सुरक्षा निकायको जागिर न्यून आकर्षण, प्रशासनिकको तुलनामा ३४ गुणा कम आवेदन

  २०७३ कार्तिक २१ गते ७:३९     विकासन्युज

काठमाडौं २१, कात्तिक । सार्वजनिक प्रशासनको तुलनामा सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सुरक्षा निकायको भर्नामा तुलनात्मक रूपमा थोरै मात्र आवेदन पर्ने गरेको छ ।

निजामती प्रशासनको भर्नामा सयौँ गुना बढी आवेदन पर्ने गरेको छ । गत वर्ष लोकसेवा आयोगले ४ सय ८५ जना नायब सुब्बा माग गरेकोमा ३ सय ३५ गुना बढी आवेदन परेको थियो । तर, नेपाल प्रहरीले ५ सय ५१ जना असइ माग गरेकोमा ३४ गुना बढी अर्थात् १८ हजार ९ सय ६६ जनाको मात्र आवेदन परेको थियो।

नेपाली सेनामा एक सय ५० सेकेन्ड लेफ्टिनेन्ट माग भएकोमा एक हजार ४ सय २२ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीले सोही तहको असईमा ३६ जनाको माग गर्दा ४ हजार एक सय ३१ आवेदन परेको थियो । नेपाल प्रहरीले ८९ जना इन्सपेक्टर माग गरेकोमा २ हजार ८ सय ५४ जनाले मात्र आवेदन दिए । त्यस्तै, ५ सय ५१ जना असई माग गरेकोमा १८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो ।
army_making_road
त्यस्तै, सशस्त्र प्रहरी बलमा ५४ जना इन्स्पेक्टरको माग भएकोमा एक हजार २ सय ४१ आवेदन परेको थियो । असईमा ३६ जनाको माग भएकोमा ४ हजार एक सय ३१ आवेदन परेको थियो । सुरक्षा निकायको तुलनामा निजामती सेवाको भर्नामा उमेर हद फराकिलो हुन्छ ।

त्यसबाहेक पनि सुरक्षा निकायको जागिर बढी कठिन हुने, करिअर अनिश्चित हुने र निष्पक्ष भर्ना प्रणालीमा विश्वास कम भएकाले आवेदन न्यून पर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्ल प्रहरीमा निश्चित उमेरहदसम्म मात्र आवेदन दिन पाइने भएकाले निजामतीको भन्दा कम आवेदन पर्ने बताउँछन् ।

‘प्रहरीमा भर्ना हुने शारीरिक रूपमा पनि दुरुस्त हुनुपर्छ, सबैजना त्यसका लागि सक्षम हुँदैनन्, त्यसकारण पनि आवेदन कम परेको हुनसक्छ,’ उनले भने । नेपाल प्रहरीले तुलनात्मक रूपमा भर्नामा आवेदन नपरेपछि गत वर्ष प्रहरीको जागिरप्रति आकर्षण बढाउन डकुमेन्ट्री नै बनाएको थियो । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.