तिहारमा सवा अर्बको सुनचाँदी व्यापार, अ‍मेरिकी चुनावको प्रभाव नेपाली सुन बजारमा

  २०७३ कार्तिक १९ गते १३:००     विकासन्युज

goldकाठमाडौं, १९ कात्तिक । तिहारमा सवा अर्ब रुपैयाँको सुनचाँदीबाट बनेका गहनाको व्यापार भएको छ । तिहारमा २ सय किलो सुन र ३ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ‘तिहारको एक सातामा सुन तथा सुनबाट बनेका गहना एक अर्ब रुपैयाँ र ३० करोडको चाँदी व्यापार भयो,’ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले भने ‘हाल विक्री भएको सुन अघिल्लो महिनाकोभन्दा ५० प्रतिशत र गत वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।’

तिहारमा अघिल्लो महिनाको तुलनामा सुनको भाउ ३ हजारले घटेका कारणले पनि सुन व्यापार फस्टाएको हो । केही समयअघिसम्म ५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अहिले घटेर साढे ५६ हजारमा आएकोले पनि बजार बढ्न सहयोग पु¥याएको शाक्यले बताए । अस्ति बुधबार ५६ हजार ८ सयमा कारोबार भएको सुन हिजो बिहीबार एक सय रुपैयाँले घटेको थियो । आज भने अझ घटेर ५६ हजार ५ सय सुन विक्री भइरहेको छ ।

गत वर्ष भूकम्पका कारण थला परेको सुन बजार दसै तिहारमा आएर उकालो लागेको थियो । पछिल्ला महिनासम्म यसले निरन्तरता पाएपनि गत साउनदेखि बजार मन्द गतिमा अघि बढेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनावको प्रभाव सुन बजारमा

अब अमेरिकी राष्ट्रपतिको चुनाव नसकिञ्जेलसम्म सुनको मूल्य घट्ने अनुमान व्यवसायीहरुले गरेका छन् । गत साताको तुलनामा अहिले विश्व बजारमै सुनको भाउ ओरालो लाग्दै आएको छ । अमेरिकाको चुनाव पछि मात्र बजार भाउ बढ्ने अनुमान गरिएको हो । ‘विश्व बजारले यस्तै संकेत गरेको छ,’ शाक्यले भने ।

साउनदेखि मन्दगतिमा अघि बढेको सुन व्यापार तिहार लागेपछि एक्कासी उक्लिएको थियो । तर, अहिले तिहार सकिएको तीन दिन वितिसक्दा पनि बजार भने सुनसान छ । आउँदो साताबाट सुन बजार फेरि बढ्न आशा व्यवसायीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.