बेनी–जोमसोम सडक खण्डबाट चिनियाँ कम्पनी गायब !

  २०७३ कार्तिक १० गते १६:३७     नारायण पौडेल

beni_jomsom_sadakकाठमाडौं, १० कात्तिक । बेनी–जोमसोम सडक खण्डको अध्ययन गरिरहेको चिनियाँ कम्पनी सम्पर्क बिहिन भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा बेनी जोमसोम सडक खण्डको अध्ययन तथा निर्माणमा समेत सघाउने भन्दै आएको चिनियाँ कम्पनी लामो समयदेखि सम्पर्क बिहिन भएको हो ।

‘बेनीदेखि जोमसोमसम्मको सडकको अध्ययन गर्न सरकारले एक चिनियाँ कम्पनीलाई दिएको थियो, चिनियाँ कम्पनीले तत्कालै अध्ययन गरेर ऋण वा अनुदानमा तुरुन्तै सडक बनाइदिन्छ भन्ने सरकारी अपेक्षा थियो तर लामो समयदेखि चिनियाँ कम्पनी सम्पर्कमा आएको छैन’, सडक विभागका महानिर्देक देवेन्द्र कार्कीले भने ।

अध्ययनको जिम्मा लिएको चिनियाँ कम्पनी गायब भएपछि सो खण्डको सडक निर्माणमा सडक विभागले कुनै काम गर्न पाएको छैन् । ‘हतारमा चिनियाँ कम्पनीलाई जिम्मा दिईयो, अहिले कम्पनी सम्पर्कमा छैन, सडक विभागले पनि त्यहाँ कुनै काम गर्न पाइरहेको छैन’, विभागका महानिर्देशक कार्कीले भने ।

उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक चिनियाँ प्राइभेट कम्पनीलाई ६ महिनामा डिपिआर बनाउने र काम थाल्ने गरि जिम्मेवारी दिएको बताए । प्रधानमन्त्रीस्तरिय निर्णय भएकाले सडक विभागसँग सो चिनियाँ कम्पनीबारे कुनै जानकारी नभएको कार्कीले बताए ।

७६ किलोमिटरको बेनी जोमसोम सडक खण्ड कालीगण्डकी नदिको किनारै किनार निर्माण गरिएको छ । सिंगल लेनमा निर्माण गरिएको सो कच्ची सडकलाई डबल लेनमा स्तरोन्नति गरि कालो पत्रे बनाउनका लागि जग्गाको मुआब्जा बाहेक ३ अर्ब ५० करोड रुपैंयाँ लाग्ने योजना विभागले तयार पारेको थियो । साधारणतया ४ बर्षमा निर्माण सम्पन्न गर्न सकिने अवस्थामा रहेको सो सडकमा आपतकालिन निर्माण सेवा सञ्चालन गरेर साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना तयार पारेको थियो ।

जोमसोमदेखि कोरला नाका सम्मको सडक निर्माणका लागि भने सडक विभागले टेण्डर जारी गरेर निर्माण व्यवसायीसँग सम्झौता समेत गरिसकेको उनले बताए । सो खण्डमा एक सय किलोमिटर सडकका लागि गत असारमै टेण्डर दिएर सम्झौता सम्पन्न भैसकेको हो ।
बेनी जोमसोम सडकका लागि विभागसँग आफ्नै डिपिआर रहेको र बजेट उपलब्ध भए ठेक्कापट्टाको काम तुरुन्तै अघि बढाउन सकिने अवस्थामा रहेको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.