काठमाडौं, ८ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले आगामी असोज महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याइपुर्याउने गरि काम गर्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले फेरी पनि निर्माण कम्पनीलाई समय नथप्न र २०७४ असोज भित्र राजधानीमा पानी ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएको हो ।
समिति बैठकले सुरुङ निर्माण, प्रभावित क्षेत्रका जनतालाई रोयल्टी तथा लेभी प्रदान गर्ने, उपत्यका भित्र जारी पाइप बिछ्याउने काम, सुन्दरीजलमा निर्माण भैरहेको प्रसोधन केन्द्रको कामलाई समेत थप प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएको छ । समितिले याङग्री र लार्के नदिको पानी समेत मेलम्ची आयोजनामा मिसाएर ल्याउने योजना कार्यान्वयनका लागि तत्कालै काम थाल्न पनि निर्देशन दिएको हो ।
त्यसका साथै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकिय क्षमता विकासमा ठोस काम गर्न पनि समितिले खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्चीको पानी रिङरोड बाहिरका उपभोक्तासम्म पुर्याउनका लागि क्षमता विस्तार तथा अन्य श्रोतहरुको खोजी गर्न पनि समितिले भनेको छ ।
समितिको बैठकमा सांसद रामकुमार भट्टराई, गणेश पहाडी, यज्ञ बहादुर थापा, टोप बहादुर रायमाझी, आङटावा शेर्पा, जनार्दन ढकाल, रञ्जना सरकार, प्रकाश शर्मा, गणेश ठगुन्ना लगायतले तोकिएको समयमै मेलम्ची आयोजना सम्पन्न गनुपर्ने धारणा राखेका थिए ।