सर्वसाधारणलाई सस्तो पसल खोज्नुपर्ने बाध्यता, महँगीले सर्वसाधारणलाई लागि दसैँ दशा समान

  २०७३ असोज २१ गते ८:१६     विकासन्युज

काठमाडौं २१, असोज । अकासिँदो महँगीले गर्दा सर्वसाधारणलाई दसैँ दशा बन्ने गरेको छ । जसोतसो परम्परा धान्नैपर्ने भएकाले सस्तो पसल खोज्नुपर्ने बाध्यता उनीहरूमा छ ।

सर्वसाधारणले सस्तोमा किनमेल गर्न फुटपाथ बजारलाई रोजेका छन् । चर्को मोलमोलाई गरेर सस्तोमा किनमेल गर्न चाहनेका लागि यस्तो बजार उपयुक्त हुन्छ ।

आफूले प्रायजसो दसैँमा फुटपाथमै कपडा खरिद गर्ने गरेको शर्मिला तामाङले बताउनुहुन्छ । गाउँबाट परिवारका लािग दसैँको कपडा खरिद गर्न आउनुभएकी तामाड भन्नुहुन्छ, ठूला पसलमा यही सामानको मूल्य बढी हुन्छ । त्यसैले म त सधै फुटपाथमा नै खरिद गर्छु ।
यस्तै रञ्जना गल्लीमा बच्चाको लुगा छानिरहनुभएकी केसाङ क्षेत्रीले ठूला पसलमा भाडा ज्यालासमेत जोडेर सामानको मूल्य तोकिने भएकाले सामान महँगो हुने अनुमान गर्नुभयो । dashain-ticket

ग्राहक मात्र होइन व्यापारीहरू पनि फुटपाथ बजार सर्वसाधारणका लागि उपयुक्त हुने बताउछन् । असनस्थित लुगा व्यापारी सर्मन नुवाकोटीले ठूला पसलले उही सामानको बढी मूल्य लिने दाबी गर्नुहुन्छ ।

केही ठूला पसलेले हामीले किनेकै ठाउँबाट सामान ल्याउँछन् तर हामीले भन्दा बढी मूल्यमा बेच्ने गरेको पाइन्छ । उहाँले फुटपाथमा सामान किन्दा मोलमोलाई गर्न डराउन नहुने सुझाव दिनुहुन्छ ।

यसैगरी आम मानिस सस्तोमा खाद्यान्न आपूर्ति गर्न सरकारले राजधानीसहित देशका विभिन्न क्षेत्रमा सस्तो बजार सञ्चालमा ल्याएको छ । यस्ता बजारमा मानिसको भीड लागेको छ ।

टेकुस्थित सस्तो बजारमा खाद्यान्न खरिद गर्नुआउनुभएकी कविता श्रेष्ठ भन्नुहुन्छ, पाँच दश रुपियाँले पनि धेरै फरक पर्छ अहिले मौकामा अलि धेरै सामान खरिद गर्न आएको हो । उहाँले नबिग्रने तथा नकुहिने खाद्यान्न सामान बढी खरिद गर्ने जानकारी दिनुभयो ।

उता सामाखुसी टाउन प्लानिङमा रहेको एक पसलमा एउटा सर्ट, टिसर्ट, बच्चाको लुगा तथा विभिन्न घरमा सजाउने सामान १० रुपियाँमा खरिद गर्न भीड लाग्ने गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिले पनि लुगाफाटो फेरेर लगाउन सकोस् तथा कुनै पनि सामानको पुनःप्रयोगले वातावरणलाई राम्रो हुन्छ भन्ने उद्देश्यका साथ सुखावती स्टोर सञ्चालनमा आएको सो पसलमा पनि मानिसको भीड निकै थियो । उक्त स्टोरका सञ्चालक चिजमान गुरुङ भन्नुहुन्छ, दसैँ सुरु भएदेखि ग्राहकहरूको बाक्लै उपस्थिति छ । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.