ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी

  २०७३ असोज १७ गते १२:४०     विकासन्युज

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ ।

बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ ।

यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो ।

jyoti1

बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना ।

‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ ।

ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ ।

पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.