२०७३ असोज ४ गते ४:२२ विकासन्युज
काठमाडौं, ४ असोज । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएको छन् । भदौ ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको स्राेतले बतायाे ।
गत पुस १४ गतेदेखि अर्याल उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २० वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए ।
मर्जपछिको एनसीसी बैंककाे समाल्नु नै मुख्य चुनौति हुनेछ । एनसीसी बैंकमा अन्य चार विकास बैंक मर्ज हुँदैछन् । मर्जको सबै प्रक्रिया पुरा भएको छ भने असोज २८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छन् । असोज २८ गते एनसीसी बैंकको स्थापना दिन हो । मर्जपछि यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ हुने भएको छ । मर्ज हुनुपूर्व सबै संस्थाको कुल चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ भएपनि मर्ज स्वाप रेसियोका कारण ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र हुने भएको छ ।
मर्जपछि लगत्तै बैंकले करिब ३५ प्रतिशत बोनस सेयर दिएर दिने र अपुग रकमको लागि हकप्रद सेयर जारी गरी पुँजी ८ अर्ब पुर्याउने बैंकको तयारी छ । मर्जपछि बैंकको निक्षेप ५८ अर्ब, कर्जा ४७ अर्ब रुपैयाँ, शाखा ९७ वटा र कर्मचारी १०२८ जना हुने भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.