मेलम्चीको ६० प्रतिशत काम सम्पन्न, ०७४ असोजभित्रै काठमाडौँमा पानी

  २०७३ भदौ १७ गते १:२२     विकासन्युज

काठमाडौं १७, भदौ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ। कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको शुक्रबारको गोरखापत्र दैनिकले समाचार छापेको छ।

bikashnews.com

हाल १९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ। जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ। समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ।

यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ सम्पन्न हुनेछ । तोकिएको मिति अझ १२ महिना बाँकी छ।  अर्थात् २०७४ असोज महिना पानी ल्याउने मिति हो।

दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए। उनले भने, ‘२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौं आउने कुरामा अब शङ्का छैन, तोकिएको समयमा काम सकिन्छ।
 उनका अनुसार सुन्दरीजल र सिन्धु जोडिनलाई अब १ किमी मात्र बाँकी छ, त्यसपछि अझ सहज हुनेछ ।

निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेन।  सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ ।  कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घर–घरमा वितरणका लागि पाइपलाइनको काम पनि तीव्र पारिएको छ। उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको कार्य पनि सोही समयअघि नै सम्पन्न गरिनेछ।  आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारमा ५ सय किमी पाइपलाइन बिच्छ्याएको छ।  ३ सय किमी बिच्छ्याउन बाँकी छ।

‘६० प्रतिशत काम सम्पन्न भइसकेको छ, ०७४ असोजभित्रै हामीले काम सम्पन्न गर्छौं, त्यही लक्ष्य अनुसार काम भएको छ, हामी समयमै काम

गर्न सक्छौँ’, निर्देशनालयका प्रवक्ता लीला ढकालले भने।

निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिनेछ। सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा पानी टङ्की निर्माणको काम भइरहेको छ।  काठमाडौँको आरुबारी, महाङ्कालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्रको निर्माण भइरहेको प्रवक्ता ढकालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.