पाउलान त भूकम्प पीडितले घर बनाउन थप एक लाख ?

  २०७३ भदौ ५ गते ५:०८     विकासन्युज

anudan_222काठमाडौं, ५ भदौं । निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सकारसँग तत्कालिन प्रतिपक्षी नेपाली काँग्रेसले भूकम्प पीडितलाई पहिलो किस्तामै एक लाख ५० हजार रुपैंयाँ दिनुपर्ने सम्झौता गराएको थियो । दाताहरुसँग आवश्यक छलफल गरेर पहिलो किस्तामै डेढ लाख रुपैंयाँ दिने प्रक्रिया अघि बढाउने सो सहमतिमा उल्लेख थियो र त्यसका लागि कार्यबिधी संसोधन पनि आवश्यक थियो । तर दाताले ग्रीन सिग्नल नदेखाएपछि एकै पटक डेढ लाख दिने सम्बन्धी सम्झौता कार्यान्वयन भएन ।

अहिले काँग्रेस समर्थनमा गठन भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि थप एक लाख रुपैयाँ दिने प्रस्ताव अघि सारेको छ । लोकप्रियता कमाउने अभियानका रुपमा अघि सारिएको प्रस्तावमा नेपाली काँग्रेस समेत सकारात्मक देखिन्छ । काँग्रेसले एक लाख रुपैंयाँ थप्ने काम आफ्नो नेतृत्वको सरकारले गर्नुपर्ने संकेत गरेको छ । तर काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले भने कुन सरकारले भूकम्प पीडितलाई थप एक लाख रुपैंयाँ दिने भन्ने विवाद नरहेको दावी गरे ।‘कसको नेतृत्वमा बनेको सरकारले भूकम्प पीडितलाई थप एक लाख रुपैंयाँ दिने भन्ने सवालै होइन, जति सक्दो चाँडो पीडितले घर बनाउन पैसा पाउनु पर्छ र दुई लाखले नपुग्ने भएकाले एक लाख थपिदिनुपर्छ भन्ने हाम्रो माग हो’, गुरुङले देशविकाससँग भने ।

उनले काँग्रेस नेताहरुका बिचमा भूकम्प पीडितलाई थप एक लाख रुपैंयाँ दिनेबारे अनौपचारिक छलफल भैसकेको समेत दावी गरे ।‘अनौपचारिक छलफलहरु निरन्तर भैरहेका छन्, अब केन्द्रिय समितिमै औपचारिक रुपले छलफल चलाएर यो बिषयको टुंगो लगाउँछौं’, गुरुङले भने ।

उनले घर पुर्णरुपले क्षति भएका परिवारलाई थप एक लाख र आफन्त गुमाएका परिवारलाई अर्काे एक लाख रुपैंयाँ दिनु पर्नेमा समेत जोड दिए । त्यस्तै, नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि दुई लाखले घरको जग समेत बसाउन नसकिने भएकाले थप एक लाख रुपैंयाँ दिनुपर्ने बताइन् । भूकम्प पीडितलाई थप एक लाख रुपैंयाँ दिनेबारे पार्टीमा पटक पटक छलफल भैसकेको बताउँदै उनले त्यसको कार्यान्वयन हुनेमा पनि आफु विश्वस्त रहेको बताइन् ।
नेकपा माओवादीका प्रवक्ता पम्फा भुषालले दुई लाख रुपैंयाँले भूकम्प पीडितलाई घर बनाउन नपुग्ने भएकाले तीन लाख रुपैंयाँ दिनुपर्ने बताइन् ।

हाल पुर्णरुपले घर क्षति भएका भूकम्प पीडितलाई तीन किस्तामा दुई लाख रुपैंयाँ दिने व्यवस्था रहेको छ ।
पहिलो किस्तामा ५० हजार, दोश्रो किस्तामा ८० हजार र तेश्रो किस्तामा ७० हजार रुपैंयाँ दिने कार्यबिधी छ र सोही आधारमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम गरिरहेको छ ।भदौ १ गतेसम्म ७८ हजार ६ सय ११ भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ बैंक खातामा पुगिसकेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार ३ लाख ६१ हजार ९ सय ६ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । भूकम्प प्रभावित ११ जिल्लाका ४ लाख ९७ हजार घर परिवारलाई दोश्रो चरणको सर्वेक्षणले लाभग्राहीका रुपमा परिभाषित गरेको छ । करिब ९४ हजारले आफुपनि लाभग्राही सूचिमा पर्नुपर्ने भन्दै गुनासो फारम भरेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुमार पनि दोश्रो चरणको सर्वेक्षण सुरु भैसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.