नवविवाहित दम्पत्तीलाई स्वागत गर्न पोखरामा हनिमुन लेक बनाईदै

  २०७३ साउन २७ गते १६:०४     वासुदेव पौडेल

पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ ।

दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।  लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।

 

dipang_tal

यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ ।

तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनी भन्छन्– “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”  तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ ।

दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आव २०६६÷६७ मा बाँध निर्माण गरिएको थियो ।  पछिल्लो समयमा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डले विनियोजन गरेको ३० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको र सोही बजेटबाट ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल निर्माण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

“दृश्यावलोकनका लागि प्रमी प्रेमिकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई आकर्षण गर्ने ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने लक्ष्य राखेको छौं,” उनले भने – “यहाँ आउने पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थल जस्ता पूर्वाधारको निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।”

ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान हुनुका साथै तालको अवलोकनमा आउने पर्यटक विशेष लाभान्वित हुने विश्वास लिइएको छ ।  साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ ।
पछिल्लो समयमा तालमा बढिरहेको जालो गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै दिपाङ ताल संरक्षण समितिले राष्ट्रिय ताल संरक्षण विकास समिति र रामसारको सचिवालयमा त्यसलाई हटाउन र समग्र तालको सुन्दरतालाई कायम गर्न बजेट समेत माग गरेको छ ।
दिपाङ तालको वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे वन सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत रहेका छन् । वरिपरिका सामुदायिक वनका कारण पनि दिपाङ ताल संरक्षित रहेको स्थानीय समाजसेवी एवम् पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व सचिव गोमानाथ लामिछाने बताए ।

उनका अनुसार तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा वनभोज स्थल निर्माण गरिएको छ ।  लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए ।

लगभग ४०० जना क्षमताको वनभोजस्थलमा रमाउँदै ताल र वरपरको दृश्यावलोकन गर्न पाउनु यहाँको विशिष्टता भएको उनको भनाइ छ ।
दिपाङसहित लेखनाथका सातवटै तालको संरक्षण र विकासलाई लेखनाथ नगरपालिकाको कार्यालयले आफ्नो प्राथमिकतामा राखेको छ ।
दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रकट गरे ।

bipasha-basu-ksgदिपाङ सहितका पोखराका नौ वटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै यिनको संरक्षणको विषयले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासो पाउन थालेको छ ।  हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई रामसारमा सूचीकृत पोखराका तालहरूको व्यवस्थापन गर्ने योजना तयार पार्ने जिम्मा दिइएकामा फाउन्डेसन सरोकारवालाबीच छलफल गराउँदै उक्त कार्यलाई निष्कर्षमा पु¥याउन क्रियाशील बनेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए । उहाँका अनुसार सरोकारवालासँगको छलफलपछि त्यहाँको आवश्यकता समेतलाई दृष्टिगत गरी व्यवस्थापन योजना तयार पारिने छ ।

आगामी सेप्टेम्बरभित्रमा योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ भने त्यस अघि विभिन्न विज्ञसहितको सहभागितामा तालसँग सम्बन्धित व्यक्ति र समुदायबीच अन्तरक्रिया गरिने भएको छ ।

कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताइ । प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.