जैैविक मार्गमा गाडी रोक्दै हुनुहुन्छ ? होसियार !

  २०७३ साउन १६ गते १२:४७     नारायण ढुङ्गाना

रत्ननगर, १६ साउन । वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ?  पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला ।

तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या कुनै अवाञ्छित गतिविधि गर्नुभयो भने निकुञ्ज ऐन वा वन ऐन आकर्षित हुने भएको छ । यसबाट तपार्इं उम्कन सक्नुहुन्न ।

पहिले फुत्कनु भएको भए पनि अब भाग्न सम्भव छैन । किनकि अहिले चितवनको जैविक मार्गमा सिसी क्यामेराले समेत निगरानी गरिरहेको हुन्छ ।

चितवनको भरतपुर र रत्ननगर जोड्ने जैविक मार्ग टिकौली जङ्गलमा वन र वन्यजन्तुको संरक्षणका लागि यसरी कडाइ थालिएको हो ।

CC_camera_jungle_sideपहिलो चरणमा चालकलाई जानकारी दिने कामको थालनी भएको छ । जानकारी दिएपछि पनि अटेर गरे कारबाही गरिने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

गएको बुधबार चितवनको टिकौली जङ्गलमा एक हुल मानिस जम्मा भए । सेना प्रहरी र वनरक्षक आफ्नै पोसाकमा थिए । झट्ट हेर्दा गाडी चालकलाई प्रहरी जाँच हुँदै छ भन्ने लाग्यो । कति मोटरसाइकल बीचैबाट फर्किएर भागे पनि । तर यो जाँच नभएर ‘संरक्षणका लागि एक मिनेट’ नारासहितको प्रचारप्रसारको कार्यक्रम थियो ।

एक मिनेट गाडी रोकेर चालक/सहचालकलाई संरक्षणबारे चेतना दिने, सिसी क्यामेराको निगरानीबारे जानकारी दिने र पछि यस्ता क्रियाकलाप भएको पाइए कारबाही गर्ने विषयमा सुसूचित गर्ने अभियानको उद्देश्य थियो ।

अभियान चल्दै गर्दा अलि पर टिकौलीको जङ्गलमा ढुङ्गा बोकेर टाँडीबाट नारायणगढ जाँदै गरेको बा२अ ६४५० नम्बरको ट्रक रोकियो । गाडीबाट चालक र सहचालक ओर्लिए । अनि ढुक्कसँग सडक छेउबाटै पिसाब फेरे ।

अलि वर आएपछि चितवन निकुञ्जका रेन्जर सुशील झाले रोकेर चालक मङ्गल लामालाई सोध्नु भो, “गुरु जी रु जङ्गलमा रोक्न पाइँदैन, पिसाब गर्न पाइँदैन भन्ने थाहा छैन ।” चालकले जवाफ दिए – “छैन सर ।”

“पहिलो चोटिलाई भै’गो, अब आइन्दा रोक्नुभयो भने कारबाही हुन्छ,” झाले यसोभन्दा चालक लामाले मुन्टो हल्लाएर सहमति जनाउनु भयो । “अनि सुन्नुस्, जङ्गलमा ४० को भन्दा माथि स्पिड नगर्नुस्, जङ्गली जनावर हिँड्छन्, विचार गर्नुस्, फोहर नफाल्नुस्, सिसी क्यामेरा पनि जोड्या छ, सबै कुरा रेकर्ड हुन्छ, बुझ्नु भो नि रु” झाले थप्नुभयो ।

लामाले हुन्छ भन्दै गाडी हाँके । रेञ्जर झाले यसो भनिरहँदा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत शशांक पौडेल अन्य कार तथा मोटरसाइकल चाकललाई पर्चा दिँदै सम्झाउँदै हुनुहुन्थ्यो ।

राप्ती नगरपालिकाबाट नारायणगढ जाँदै गर्दा ना १३ प २८९७ नम्बरको मोटरसाइकलका चालक राजकुमार उप्रेतीलाई उहाँले संरक्षणबारे सचेत गराउनुभयो । वन्जयन्तु आउजाउ गर्ने स्थान भएकाले टिकौली जङ्गलमा गति सीमित गर्न उहाँले अनुरोध गर्नुभयो । उप्रेतीले सही थाप्नुभयोे, “संरक्षणको विषयमा म ध्यान दिने छु ।”

लगत्तै बा १४ च १९०० नम्बरको कारलाई रोकेर उहाँले चालकको हातमा पर्चा थमाउँदै भन्नुभयो, “अब तपाईं जङ्गलमा सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ । वन्यजन्तु हिँड्दा गति सीमित गर्नुस् । बीचमा गाडी रोक्नुभएन ।” चालक रामेश्वर चौधरी हुन्छ भन्दै गन्तव्यतर्फ लाग्नुभयो ।

यो अभियान विगत एक सातादेखि जारी छ । यसरी अभियान थालिएको जिल्लामा यो पहिलो हो । मुख्यगरी ४÷५ कुरालाई ध्यानमा राखेर जैविक मार्गमा निकुञ्ज र सरोकारवाला निकायले कडाइ थालेको हो ।

“निरन्तर सिसी क्यामेराको निगरानीमा छौँ भन्ने जानकारी चालकलाई हुनुप¥यो, बीचमा रोक्न पाइँदैन भन्ने जानकारी दिनुप¥यो, गति सीमित गर्नुप¥यो र फोहर फाल्नुभएन भने सूचना दिनुप¥यो, यही चार कुरालाई ध्यानमा राखेर चालकलाई संरक्षण शिक्षा दिन थालेका हौँ,” संरक्षण अधिकृत पौडेलले भन्नुभयो ।

पहिलो चरणमा गाडी रोकेरै गत आइतबारदेखि अभियान थालिएको छ । साउनदेखि टिकौली जङ्गलको झन्डै सात किलोमिटर क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र, प्रहरी, सेना, स्थानीय प्रशासन र जिल्ला वनको समन्वयमा यो काम भएको हो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल जैविक मार्ग क्षेत्र र संवेदनशील क्षेत्रमा आफूहरुले यो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको बताउनुहुन्छ । सौराहाको संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जोडेर निगरानी थाल्ने र यस्ता गतिविधि गर्ने सवारी चालकलाई कारबाही गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

क्यामेरा जोडिएपछि अभिलेखमा गतिलो कुरा भेटिएको कँडेलको भनाइ छ । अघिल्लो साता राति करिब १ बजेको समयमा टिकौली जङ्गलको बाटो काट्न लाग्दा एउटा दुर्लभ पाटेबाघ आयो, अघिपछिको गाडीका बत्तीका कारण बाघले बाटो काट्न सकेन । ऊ ‘यु’ टर्न गरेर फक्र्यो । एक मिनेट कै अन्तरालमा एउटा रात्रि गाडी त्यहीँ आएर रोकियो, जहाँ बाघले भर्खरै बाटो मोडेको थियो । अनि यात्रु धमाधम ओर्लिए र दिसापिसाब गर्न थाले ।

सिसीको अभिलेखबारे बताउँदै प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “एक मिनेटको मात्रै फरक नभएको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।” यो एउटा दृष्टान्त हो । यति संवेदनशील क्षेत्रमा हेल्चेक्रयाइँले अनाहकमा वन्यजन्तुको ज्यान जाने गरेको छ भने मानिसको जोखिम पनि उत्तिकै बढ्दो छ । अझ फोहर फाल्ने गर्नाले जैविक विविधता र दुर्लभ वन्यजन्तु मै नराम्रो असर पार्ने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

गएको वर्ष चितवनमा १५ दुर्लभ वन्यजन्तुलाई यही सडकमा गाडीले हानेर मारेको तथ्याङ्क छ । तर वन र निकुञ्जको तथ्याङ्कमा पाँच वटा गाडी मात्रै कारबाहीमा परेका छन् ।

“सिसी क्यामेरा भएको भए सबै गाडी पर्ने थिए,” प्रमुख संरक्षण अधिकृत कँडेलले थप्नुहुन्छ – “अब त्यस्ता गाडी उम्कँदैनन् ।” पहिलो चरणमा प्रचारप्रसार गरेर गाडी चालकलाई जानकारी दिने र दोस्रो चरणमा अटेर गर्नेमाथि कारबाही चलाइने छ । यसरी गाडीले वन्यजन्तु किचेमा रु २० हजार जरिवाना र दुई वर्षसम्म कैद हुने सजाय ऐनमा छ ।

अझ गैँडा, बाघ, र हात्तीलाई ठक्कर दियो भने सजाय थपिने निकुञ्जले जनाएको छ । संरक्षणकर्मी रामप्रित यादव यति महत्वपूर्ण वन्जयन्तु र जैविक विविधताका विषयमा मानिस अझै संवेदनशील नभएकामा चिन्ता प्रकट गर्नुहुन्छ ।
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्जले बाघको विषयमा अन्तर्राष्ट्रिय क्याट्स अवार्ड समेत पाएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ र एकसिङ्गे गैँडाको सबैभन्दा ठूलो वासस्थान चितवन निकुञ्ज हो ।

यस्तो संवेदनशील क्षेत्रबाट महाभारत पर्वत जोड्ने जैविक मार्ग चितवनको टिकौली जङ्गल हो । त्यसैले यो क्षेत्रलाई सुरक्षित राख्न पहिलो चरणमा यहाँबाट ‘संरक्षणका लागि एक मिनेट’ कार्यक्रम समेत चलाइएको छ । टिकौलीको यो जङ्गलमा फोहरको डङ्गुर भने यथावत् नै छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.