२०७३ साउन १४ गते ८:४४ विकासन्युज
१४ साउन, पोखरा। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)द्वारा वैदेशिक रोजगारपीडितका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्न पोखरामा स्थापित शाखा कार्यालयमा दुई महिनामा ठगीका २७ वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारका नाममा धेरै व्यक्ति गठीमा पर्ने गरेको भन्दै पोखरा र आसपासका क्षेत्रका पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले गत जेठ २ गतेबाट पोखरा–७ राष्ट्रबैंक चोकमा कार्यालय सञ्चालन गरिएको थियो ।
कार्यालयका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र अर्यालकाअनुसार वैदेशिक रोजगारपीडितमध्ये अधिकांश आफन्तबाटै ठगिएको पाइएको छ । हालसम्म कार्यालयमा वैदेशिक रोजगारका नाममा २० देखि १५ लाख रुपैयाँसम्म ठगिएका उजुरी परेको उनले बताए । पीडितले प्रस्तुत गर्ने प्रमाणका आधारमा उसको उजुरीलाई दर्ता गरी मानवअधिकारका लागि जनमञ्चको केन्द्रीय कार्यालय काठमाडौंमार्फत बैदेशिक रोजगार विभागमा पठाउने गरिएको उनले बताए ।
कार्यालय सञ्चालनमा आएसँगै कास्की, स्याङ्जा, तनहुँ, गोरखा, बागलुङलगायत जिल्लामा वैदेशिक रोजगार ठगी न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण गरिएको छ । कार्यालयले कास्कीका ढिकुरकोखरी, अर्मला, भदौरे तामागी, मौजा, कृष्तिनाच्ने चौर, माछापुच्छ्रे, थुमाको डाँडा, घान्द्रुक, पार्चे र निर्मल पोखरीमा वैदेशिक रोजगार सम्बन्धमा कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.