१० वटा नयाँ शहरको निर्माणका लागि एकिकृत विकास मस्यौदा तयार, प्रत्येक शहर निर्माण गर्न ८ देखि १० अर्ब चाहिने

  २०७३ साउन ११ गते १४:५०     विकासन्युज

काठमाडौं, ११ साउन । सरकारले मध्यपहाडी लोकमार्गको विभिन्न १० स्थानमा आधुनिक सुविधासहित विकास गर्न लागेको नयाँ १० शहर स्थापना कार्य अघि बढेकोे छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) र उत्तर–दक्षिण सडक करिडोरको नजीक पर्नेगरी विकास गर्न लागिएका ती शहर निर्माणका लागि अधिकांश परामर्शदाता कम्पनीहरुले शहर निर्माण गर्नका लागि एकिकृत विकास योजनाको मस्यौदा नयाँ शहर आयोजना समन्वय कार्यालयमा पठाइसकेका छन् । प्रस्तावित शहरको मापदण्ड तयारी मस्यौदा सरकार समक्ष आइपुगेकोले चालू आर्थिक वर्षमै गुरु योजना बनाएर थप काम अघि बढाइने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इञ्जिनियर रमेशप्रसाद सिंहले बताए ।

प्रस्तावित १० नयाँ शहर

प्रस्तावित १० नयाँ शहर

परामर्शदाता कम्पनीहरुले विभिन्न जिल्लामा पुगेर प्रस्तावित शहरको स्थलगत अध्ययन प्रतिवेदन बुझाइसकेका छन्, उनले भने ‘सरकारले एकीकृत विकास योजनाअन्तर्गत १० वटै शहरमा आवश्यक पूर्वाधार तयार पार्दै लैजाने छ ।’ हाल ती शहरमा जग्गा एकिकरणको कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ । प्रत्येक शहरमा कम्तिमा एक लाख जनसङ्ख्या अटाउने गरी सहरको विकास गर्ने सरकारको तयारी छ । धेरै जसो शहरहरुको क्षेत्रफल २५ वर्ग किलोमिटर रहने भएपनि जग्गा पर्याप्त नभएका स्थानमा १० वर्ग किलोमिटरलाई पनि मान्यता दिने सरकारी योजना छ । सिन्धुलीको खुर्कोटमा शहर विकासको लागि जग्गा नपुग्ने देखिएको छ । प्रत्येक शहर निर्माणका लागि रू.८ देखि १० अर्ब लाग्ने अनुमान गरिएकको छ । पहाडी र हिमाली जिल्लाबाट बसाइँ सरेर तराई झर्ने क्रम बढेपछि त्यसलाई रोक्न सरकारले नमूना नयाँ शहर योजना ल्याएको हो ।

कार्यालयले दोस्रोपटक गुरुयोजना तयारी जुटेकोे हो । यसले नयाँ शहर निर्माणको योजना पछाडि धकेलिएको हो । यस अघि सबै शहर बसाउन गुरु योजना तयार पार्ने जिम्मेवारी पाएका विईलिंक कन्सल्यान्ट प्रालि, आर्किटाईप प्राइभेट कम्पनी र ग्रीड कन्सल्ट प्रालिले विभागमा पेश गरेको गुरु योजना सम्बन्धी प्रस्ताव एउटै रहेको पाएपछि विभागले विविध कारण देखाइ प्रक्रिया रद्द गरेको थियो । अहिले सो शहर निर्माणको लागि गुरु योजना बनाउने दोस्रो चरणको कार्य अन्तिममा पुगेको बताएको छ ।

गुरु योजना तयार भएपछि नयाँ बन्ने शहरको भौतिक विकास योजना, भवन मापदण्ड, भू–उपयोग योजना, आर्थिक विकास योजना, बहुक्षेत्रीय लगानी योजना क्षेत्रको खाका तयार पारिनेछ । त्यसका साथै संरक्षण र पर्यटन योजना, वातावरणीय व्यवस्थापन, निर्माण मापदण्ड र पर्यावरणीय पूर्वतयारीलगायत क्षेत्रको खाका तयार आधुनिक शहर निर्माण कार्य गरिने भएको छ । सो खाका सरकारले स्वीकृत गरेपछि मात्र स्थलगत कार्यान्वयनमा जानेछ । ‘योजनाअनुसार काम भएमा आव २०७३/७४ बाटै शहर विकास शुरू हुनेछ,’ सिंहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.