भूकम्प र नाकावन्दीले थलिएको पर्यटन क्षेत्र तङ्ग्रिदै, अागमन बढ्यो

  २०७३ साउन ५ गते १६:०७     विकासन्युज

काठमाडौं, ५ साउन।  गत वर्षदेखि विविध कारणले सुस्ताएको नेपाली पर्यटन विस्तारै तङ्ग्रिँदै गएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१६ को पहिलो ५ महिनामा २ लाख ३५ हजार ७२४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए ।

गत वर्षको अप्रिल २५ मा भूकम्प गएपछि मे महिना पूरै प्रभावित भएको थियो । भूकम्पलगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ नेपाली पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ ।

नयाँ वर्षको सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकारा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

Tourism

फेबु्रअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेब्रुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार थियो । गत वर्षको मेमा १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो वर्षको मेमा भने ४५ हजार २९८ विदेशी पर्यटक नेपाल आएका छन् ।

यो अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो ५ महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीय नेपाल आएका थिए ।

गत वर्षको पहिलो ५ महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष यो संख्या घटेर २७ हजार २१२ मा झरेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् ।

महिना               सन् २०१५            सन् २०१६
जनवरी               ३८६१६                   ३३३६२
फेबु्रअरी             ५८५२३                   ४४८१०
मार्च                   ७९१८७                   ५७८७४
अप्रिल                ६५७२९                   ५४३८०
मे                      १७५६९                   ४५२९८

श्रोत अध्यागमन विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.