दुग्ध विकास संस्थान ४९ औं बर्षमा, बार्षिक नाफा ६ करोड

  २०७३ साउन १ गते ९:४५     विकासन्युज

काठमाडौं । दुग्ध विकास संस्थान ४९ औं बर्षमा प्रवेश गरेको छ । संस्थानको स्थापना २०२६ साल साउन १ गते भएको थियो । संस्थानले गत आर्थिक वर्ष २०७२/७३ मा करिब ६ करोड नाफा कमाउन सफल भएको छ । संस्थानले अघिल्लो आर्थिक वर्षमा जम्मा ५ करोड २१ लाख ५९ हजार नाफा कमाएको थियो । संस्थानले किसानहरुबाट प्रत्येक वर्ष ८ करोडको हाराहारीमा दुग्ध खरिद गर्दै आएको छ ।

संस्थानको व्यापार साढे तीन अर्बको हाराहारीमा हुनेगरेको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संस्थानका महाप्रवन्धक गंगा तिम्लिसिनाले ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको र दुई लाख ५० हजार लिटर दुध किसानहरुबाट संकलन गर्दै आएको जानकारी दिए । महाप्रवन्धक तिमल्सिनाले पछिल्लो समयमा दुध आयातलाई प्रतिस्थापन गर्न सफल भएको बताए । संस्थानको सुधारका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको भन्दै उनले ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकहरुलाई दुधको उचित मुल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने उद्देश्यले नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए ।

संस्थानले मिल्क होलि डेको समस्या समधानका लागि विराटनगरस्थित पाउडर प्लाण्टको क्षमता विस्तार गर्ने भएको छ । यस्तै संस्थानले सरकारको सहयोगमा बुटवलमा युएचटी प्लाण्टको स्थापना तथा नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानाको क्षमता विस्तार गर्ने तयारी गरेको छ । पशु आहार उत्पादन कारखाना व्यवसायीक उत्पादन तथा विक्री वितरण गरिने भएको योजना सार्वजनिक गरेको छ ।

यस्तै पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमाईटेजसन गरिने, भुस तथा दाउरा ब्वाईलर सञ्चालमा ल्याई डिजेल खपत घटाउने, दक्ष जनशक्ति आपूर्ति तथा ज्यालादारीहरुलाई स्थायी गर्ने, केन्द्रीय कार्यालयमा रहेको जगगाको उचित व्यवस्थापन गर्ने योजना डिडिसीले अघि सारेको छ ।

बार्षिकोत्सव समारोहमा पशुपंक्षी तथा कृषि विकास मन्त्री शान्ता मानवीले दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्दै निर्यातको बाटोमा अघि बढ्नु पर्ने बताइन् । उनले कृषि क्रान्तिले मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सक्ने बताउँदै सरकारले त्यसका लागि क्रियाशिल रहेको पनि बताईन् । संस्थानका अध्यक्ष खिम बहादुर थापाले संस्थानलाई सबल बनाउँदै दुग्धजन्य पदार्थमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नयाँ उत्पादन दाना र टि मिल्क बजारमा
संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा पहिलोपटक डिडिसी दाना टि मिल्क नामक छुट्टै दुध बजारमा ल्याएको छ । यी उत्पादन साउन १ गतेदेखि बजारमा आएका हुन् । संस्थानले चियाका लागि उत्पादन गरेको दुध फयाट कम भएको र वाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ ।

संस्थानले होटलहरु व्यवसायीहरुको मागअनुसार बजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याएको बताएको छ । टि मिल्कमा फ्याटको मात्रा १ दशमलब ५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९ दशमलब ५ प्रतिशत रहेको छ । सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फ्याटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ ।

त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार मेट्रिक टन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको जनाएको छ । निजी क्षत्रको तुलनामा सस्तो र गुणस्तरीय रहेकोले पनि डिडिसी दानाका लागि बजारको कुनै समस्या नरहेको पनि संस्थानका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.