नेपालको फुटबल छ स्थान तल झर्दै १८८ स्थानमा

  २०७३ असार ३१ गते ७:४२     विकासन्युज

काठमाडौं, ३१ असार । नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ) चौथो स्थानमा छ । साफ क्षेत्रको शीर्षस्थानमा भारत छ । एघार स्थान सुधार गरेको उ १५२ औँ स्थानमा उक्लिएको छ ।

भारतपछि माल्दिभ्स १७४औँ स्थानमा यथावत् छ भने दुई स्थान खस्किएको बङ्गलादेश १८३ औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि रहेको भुटान १९२ मा छ । भुटान चार स्थान तल झरेको हो । त्यस्तै समान चार स्थान खस्किएको श्रीलङ्का १९३ औँ र अन्तिममा रहेको पाकिस्तान दुई स्थान तल झर्दै १९४औँ स्थानमा छ ।

युरो कप र कोपा अमेरिका प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको भए पनि वरियाताक्रमको शीर्ष पाँच स्थान यथावत् छ । जसमा अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् ।

युरो विजेता पोर्चुगल दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा छ भने १० स्थान सुधार गरेको फ्रान्स सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै दुई÷दुई स्थान तल झरेका स्पेन र ब्राजिल क्रमशः आठौँ र नवौँ स्थानमा छन् भने दुई स्थान नै सुधार गरेको इटाली १०औँ स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना विश्व वरियता सार्वजनिक गर्ने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.