सडकका कारण पर्यटन व्यवसाय प्रभावित

  २०७३ असार ३० गते १०:२०     विकासन्युज

चितवन, ३० असार । भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसाय नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण थप प्रभावित भएको छ । भूकम्पबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन नसक्दा अहिले पनि विदेशी पर्यटक पूर्ववत् अवस्थामा आउन सकेका छैनन् । नेपाल भित्रिएका पर्यटक नारायणगढ–मुग्लिन सडकखण्डको अवरोधका कारण चितवन आउन कठिनाइ हुने गरेको छ ।

चितवन, काठमाडौं र पोखरापछिको पर्यटकीय गन्तव्य हो । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडी सडकका कारण वैशाखयता अधिकांश गोष्ठी, सभासम्मेलनको बुकिङ रद्द हुनुका साथै यहाँ आउने पर्यटक पोखरातर्फ लागेका बताए । सरकारी, गैरसरकारी र निजी क्षेत्रले आफ्नो वार्षिक कार्यक्रम, गोष्ठी र तालिम जिल्लामा गर्दै आएका थिए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेका अनुसार भूकम्प अघि यस मौसममा २५ देखि ३० प्रतिशत पर्यटक सौराहा आउने गरेका थिए । “यस वर्ष १५ प्रतिशतको हाराहारीमा पर्यटक आएका छन्,” उनले भने । भूकम्पको डरले पर्यटकको सङ्ख्यामा कमी आएको घिमिरे बताए ।

अहिले नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति गरिँदै छ । दिउँसो अधिकांश समय यातायात अवरुद्ध हुने गरेको छ । सामान्य वर्षात्सँगै पहिरो खस्ने गर्छ । यस्तो अवस्थामा ट्राभल एजेन्सीले पर्यटकलाई पोखरातर्फ पठाउँछन् । सौराहाको बुकिङ रद्द हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ ।

विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । तर यस आवमा एक लाख हाराहारीमा मात्रै पर्यटक प्रवेश गरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताएका छन्। चितवन र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी १५० वटा होटल निर्माण भएका छन् भने हात्ती, डुङ्गा, जिप, पर्यटक बसमा ठूलो लगानी गरिएको छ । होटलमा रु २५ अर्बभन्दा बढी लगानी गरिएको छ । आधाभन्दा बढीले बैंकबाट ऋण झिकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.