२०७३ असार ३० गते ८:१७ विकासन्युज
काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने ।
शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
२० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.