चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग अवरुद्ध

  २०७३ असार २१ गते ७:३५     विकासन्युज

बैतडी, २१ असार । चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग आइतबार बिहानदेखि फेरि अवरुद्ध भएको छ । अविरल वर्षापछि पहिरोका कारण बैतडी र दार्चुलाका विभिन्न स्थानमा गएको पहिराले बिहीबार रातिदेखि अवरुद्ध सडक सोमबार मात्रै सञ्चालनमा आएको थियो ।

बैतडीको सतबाँझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । लगातार पानी परिरहेकाले अवरुद्ध खडक खुलाउन समस्या भएको छ । उनले भने– “वर्षा रोकिएपछि मात्रै सडक खुलाउन प्रयास हुनेछ ।”

बागाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको छ । यातायातका साधन पूर्ण रुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन रोकिएको बताइएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं, भीमदत्तनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।

पहिराको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्मा प्रत्येक वर्ष उक्त ठाउँमा बेला बेलामा सडक अवरुद्ध हुने गरेको छ । सोही पहिराका कारण बिहीबार राति दुइटा घर पनि पुरिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.