एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनको अनुगमन टोली हेटौंडामा

  २०७३ असार १५ गते १०:२६     विकासन्युज

काठमाडौं, १५ असार । कृषि विकास मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठको नेतृत्वमा जिल्लामा संचालन भईरहेको एक गाउँ एक उत्पादन कार्यक्रम र छिट्टै संचालनमा आउने एक जिल्ला एक उत्पादन कार्यक्रमको अनुगमन हेटौंडामा पुगेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित अनुगमन टोलीसंगको छलफल कार्यक्रममा मकवानपुरमा संचालित एक गाउँ एक उत्पादन कार्यक्रमले राम्रो सम्भावना बोकेको उपसचिव श्रेष्ठले बताएका छन् ।

makwanpur_toli
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला कृषि विकास कार्यालय मकवानपुरसंगको सहकार्यमा किवी खेतीको प्रवद्र्धन र बजारीकरणमा जोड दिंदै आएको छ । अन्तर्राष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सक्ने हेवार्ड जातको किवी विरुवाको पहिचान समयमै नभईदिंदा किवी खेती गर्ने कृषकहरुलाई भने थोरै चिन्तित तुल्याएको किवी कृषक फणिन्द्रनाथ सुवेदीले बताए ।

नयाँ फलको रुपमा रहेको किवीको अनुसन्धान, यसको प्राविधिक ज्ञान, प्राविधिकको कमीले विगतका दिनमा उल्लेखनीय सफलता हासिल गर्न नसकेपनि एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएपश्चात कृषकहरुले पाएको प्राविधिक सहयोगका कारण आगामी वर्षहरुमा किवीको उत्पादन र यसको बजारीकरणमा उल्लेखनीय सफलता हासिल गर्ने किवी कृषक माधव सुवेदीले बताए ।
छलफल कार्यक्रम अघि संघका कार्यकारी सचिव एवम् एक गाउँ एक उत्पादन जिल्ला कार्यान्वय समितिका सदस्य सचिव विवेक मानन्धरले जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रमको संचालनदेखि हालसम्म भएका प्रगति प्रतिवेदन पेश गरेका थिए । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले मकवानपुरमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत रहेको किवी खेतीमा प्रशस्त चुनौतीहरु रहेतापनि सोही चुनौतीलाई अवसरको रुपमा प्रयोग गरे कृषकहरु सफलता उन्मुख हुने बताए ।

संघका अध्यक्ष न्यौपानेले किवी खेतीमा देखा परेका विविध समस्याहरुको समाधानकालागि नार्कमा किवीको अनुसन्धान गर्न आवश्यक प्रकृया अघि बढाईदिन उपसचिव श्रेष्ठलाई आग्रह गरेका थिए । संघका महासचिव महेन्द्र राउतले संचालन गरेको छलफल कार्यक्रममा मकवानपुर जिल्लामा छिट्टै संचालन हुन लागेको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत अदुवा प्रशोधन उद्योगकालागि आवश्यक गृहकार्य भईरहेको पनि अध्यक्ष न्यौपानेले जानकारी गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठले भ्रमणको उद्देश्यको विषयमा जानकारी गराए । छलफल कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, नेपाल अदुवा कृषक व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोपाल गौतमलगायत पदाधिकारीहरु, किवी खेती गरिरहेका कृषक समूहका सदस्यहरु, राष्ट्रिय मिडियाका संचारकर्मीहरु, स्थानीय संचारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.