पौने दुई लाख भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ताभित्रै ५० हजार पाउने

  २०७३ असार १५ गते ९:२१     विकासन्युज

काठमाडौं, १५ असार । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दोलखा उपक्षेत्रीय कार्यालयका सिनियर डिभिजन इन्जिनियर हरि शर्माले रामेछापमा ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको र क्याम्प राखेर अनुदान सम्झौता गर्ने कार्य रामेछापमा सम्पन्न भएको जानकारी दिए ।

रामेछापमा कूल लाभग्राहीको संख्या ४३ हजार ६ सय ९ रहेको थियो । त्यस मध्ये ३ हजार ५६ सँग अनुदान सम्झौता हुन बाँकी छ । ‘उनीहरुसँग पछि सम्झौता गरिनेछ ’, शर्माले भने । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ वटा जिल्ला मध्ये अनुदान सम्झौता सम्पन्न गर्ने रामेछाप पहिलो जिल्ला भएको छ । गत चैत्र २८ गते रामेछापको ओख्रनीबाट अनुदान सम्झौता सुरु गरिएको थियो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार असार १४ गतेसम्ममा गोरखामा ४० हजार ८ सय ५७, सिन्धुपाल्चोकमा २८ हजार ९ सय ६४ घरधनीसँग अनुदान सम्झौता भएको छ । यस्तै दोलखामा २० हजार ५ सय ५७, ओखलढुंगामा १७ हजार २, धादिङमा १२ हजार ६ सय ३९, काभ्रेमा ८ हजार ९ सय ९१ घरधनीसँग अनुदान सम्झौता भएको छ । नुवाकोटमा ७ हजार ७ सय ५३, रसुवामा २ हजार ७७, सिन्धुलीमा ११ सय र मकवानपुरमा ५ सय २० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

अनुदान सम्झौता भएका मध्ये ११ हजार ८ सय ४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा भएको छ । जसमा गोरखामा ४६ सय ५६, दोलखामा ४४ सय १६, रसुवमा ७ सय ५, ओखलढुंगामा ४ सय ४१ र सिन्धुपाल्चोकमा २ सय ३२ घरधनीको बैंक खातामा रकम जम्मा भएको छ ।

प्राधिकरणको उपक्षेत्रीय कार्यालय दोलखाका अनुसार रामेछापमा १३ सय ९० घरधनीको बैंक खातामा अनुदान रकम जम्मा भएको छ । पहिलो किस्तामा प्रतिघरधनी ५० हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामार्फत अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ । पहिलो किस्ताबाट भूकम्प प्रतिरोधी विधि अनुसार जग र प्लिन्थसम्मको काम सक्नु पर्छ ।

अनुदान सम्झौताका क्रममा ११ जिल्लामा ८६ हजार ४ सय २३ वटा गुनासा दर्ता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ । साथै, अनदान सम्झौता भएको एक हप्ता भित्र लाभग्राहीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा गरिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.