२०७३ असार ८ गते १०:४५ विकासन्युज
काठमाडौं, ८ असार । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरि प्रदान गरिरहेको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा अब आइओएस भर्सनमा पनि उपलब्ध गराउने भएको छ । यस अघि एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा ग्राहकहरुको माग अनुसार आइओएस भर्सनमा पनि उपलब्ध गराएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस मोबाइल बैंकिङ्ग सेवा मार्फत सबै ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाट नै बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । ग्राहकहरुले एण्ड्रोइड फोनको लागि गुगल प्ले स्टोर्स र आईफोनका लागि एप्पल एप स्टोर्समा गएर ग्लोबल स्मार्ट एप्लिकेशन डाउनलोड गरि सेवा उपभोग गर्न सक्ने छन् । यो एप एण्ड्रोइड फोनमा आईसक्रिम स्यान्डविच ४ भर्सन र आईफोनमा आइओएस ८ भर्सन देखि सपोर्ट गर्ने बैंकद्धारा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।
डाउनलोड गरिएको एप्लिकेशन मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले, खाताको स्टेटमेन्ट हेर्न, रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, मोबाइल, इनटरनेट जस्ता सेवाको बिल भुक्तानी गर्न, आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, साथै अन्य जानकारी लिन सक्ने कम्पनीले बताएको छ ।
यो सेवा सुचारु गर्नका लागि ग्राहकहरुले बैंकमा खाता खोल्दा समयमा रजिष्ट्रर गरेको मोवाईल नम्बर नै प्रयोग गर्नु पर्ने छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.