बिमानस्थलबाट निगम अधिकारीले भने‘मिसन इन्धन बोकेर चीन उडियो’

  २०७२ कार्तिक ९ गते १४:३९     विकासन्युज

नारायण पौडेल

काठमाडौं, ९ कात्तिक । चीनसँग पेट्रोलियम पदार्थ कारोबार सम्झौता गर्न आठ सदस्यीय नेपाली टोली चिन प्रस्थान गरेको छ । चीनका लागि नेपाली राजदुत डा. महेश मास्के नेतृत्वको टोलीमा आठ सदस्य रहेका छन् ।

टोलीमा परराष्ट्र, बाणिज्य मन्त्रालय, गुणस्तर बिभाग र नेपाल आयल निगमका अधिककारीहरुको सहभागीता रहेको छ । प्रवक्ता दिपक बरालले दिएको जानकारी अनुसार निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र निर्देशक सुशिल भट्टराई टोलीमा सामेल छन् ।
परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव झबिन्द्र अर्याल चीन गएका छन् ।

टोलीले चीनसँग पेट्रोलियम पदार्थको खरिदको सम्झौता गर्नेछ । ‘मिसन इन्धन सहित चीन उड्नै लागेका छौं, चीनसँग वार्ता गरेर इन्धन खरिदको सम्झौता हुनेछ ।’ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नेपाल आयल निगमका निर्देशक भट्टराईले भने । चीनसँग पेट्रोलियम कारोबार सम्बन्धी सम्पुर्ण अधिकार सहित नेपाली टोली त्यसतर्फ उडेको हो ।

भारतले मधेशमा जारी आन्दोलनलाई कारण देखाउँदै अघोषित नाका बन्दी र इन्धन आयातमा अवरोध गरेपछि चीनसँग इन्धन खरिदको प्रक्रिया आरम्भ गरिएको हो । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारत भ्रमणका क्रममा इन्धन पाउने सम्भावना नदेखेसँगै सरकारले चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । चीनसँग इन्धन खरिद गर्ने प्रक्रिया अघि बढेसँगै नेपालमा पेट्रोलियम पदार्थ बेच्ने भारतीय एकाधिकारको अन्त्य हुनेछ ।