पुनःनिर्माणका लागि पर्यटक शुल्कमा बढाइयो

  २०७२ कार्तिक २ गते १०:४६     विकासन्युज

काठमाडौँ, २ कात्तिक । हनुमानढोका दरवार क्षेत्र प्रवेश गर्नको लागि पर्यटकले तिर्नुपर्ने शुल्क बढेको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गर्दै शुल्क समेत बृद्धि गरेको हो ।

दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा भूकम्पका कारण भत्किएपछि तिनको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि कोष स्थापना गरिएको हो ।

समितिले दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको शुल्क कात्तिकदेखि लागू हुने गरी प्रतिपर्यटक ७ सय ५० रुपैयाँबाट वृद्धि गरी एक हजार रुपैयाँ पु¥याएको छ । समितिले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मुलुकभन्दा बाहिरबाट आएका पर्यटकलाई अहिलेसम्म प्रतिपर्यटक ७ सय ५० रुपैयाँ शुल्क लिँदै आएकोमा उनीहरूलाई शुल्क वृद्धि गरिएको हो । प्रत्येक टिकटबाट प्राप्त हुने २ सय ५० रुपैयाँलाई कोषमा सङ्कलन गरिनेछ ।

सार्क मुलुकका नागरिकलाई १ सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको छ । काठमाडौँ महानगरपालिकाको गत असारमा बसेको परिषद्ले शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गरिएको समितिका कार्यक्रम प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए । अहिलेको मौसममा गत वर्ष प्रतिदिन करिब ४ सय पर्यटक आउने गरेकामा यस वर्ष पर्यटकको सङ्ख्या घटेर करिब २ सय ५० आउने गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.