यसपालीको दशैः सुनसान शहर, ठप्प ब्यापार

  २०७२ कार्तिक १ गते ११:५७     विकासन्युज

काठमाडौं, १ कात्तिक । ‘दशै सामान्य पर्व वा चाढ मात्र होइन, अरु समयमा २ महिनामा हुने ब्यापार एउटा दशैमै हुन्थ्यो, हामीले त्यसै अनुसारको तयारी गरेका थियौं, तर यसपाली दशैमा बर्बादै भयो ।’

यो भनाइ नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष अन्जनराज श्रेष्ठको हो । गत १२ बैशाखको विनासकारी भूकम्पको कारण सर्वसाधारणमा छाएको त्रास, करिब २ महिनादेखिको तराइ–मधेशमा जारी आमहड्ताल र करिब २२ दिनदेखिको भारतको अघोषित नाकाबन्दीको कारण नेपालको अर्थतन्त्र चौपट बनेको संकेत अध्यक्ष श्रेष्ठको यो भनाइले गर्छ ।

Bikashnews.com

भूकम्प, आमहड्ताल र नाकाबन्दीले नेपाली अर्थतन्त्र तहसनहस भएको छ । आन्दोलनका कारण उद्योग कलकारखना बन्द भएको २ महिना वितिसकेको छ । नेपालको अधिकांश उद्योग प्रतिष्ठानहरु तराइ–मधेश क्षेत्रमा केन्द्रीत छन् । सोही क्षेत्रमा २ महिनादेखि आमहड्ताल जारी छ । तराइ–मधेशको आन्दोलनको कारण उद्योग, ब्यापार, सेवा, कृषि जस्ता सवै क्षेत्रमा नकारात्मक असर पुगेको छ ।

गत १२ बैशाखको विनासकारी भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले सिथिल बनेको नेपाली अर्थतन्त्र केहि चलायमान हुन लागेको समयमा भारतको अघोषित नाकाबन्दीले उठ्नै नसक्ने गरी थला परेको छ । सर्वसाधारण एक ठाउवाट अर्काे ठाउमा जानसम्म नसक्ने परिस्थिति सिर्जना भएको अवस्थामा अर्थतन्त्रले कति मूल्य चुकायो भनेर अनुमान गर्न निकै लामो समय लाग्ने अर्थशास्त्री केशव आचार्यको भनाइ छ ।

‘मैले जाने अनुसार नेपाली अर्थतन्त्रले यति कठिन अवस्था यसअघि कहिल्यै पनि सामना गर्नु परेको थिएन, लामो राजनीतिक संक्रमणकाल, त्यसविचमै आएको विनासकारी भूकम्प, २ महिना लामो आमहड्ताल र भारतको अघोषित नाकाबन्दीले नेपाली अर्थतन्त्र सिथिल मात्र बनेको छैन, साह्रै विरामी पनि परेको छ,’ अर्थशास्त्री आचार्य भन्छन् । अर्थविदहरुका अनुसार दशैमा मात्रै करिब डेढ खर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवाको उपभोग हुने गरेको थियो । यसवर्ष त्यसको एक तिहाइ पनि उपभोग नभएको उनीहरुको अनुमान छ ।

दशैको बेलामा काठमाडौंका विभिन्न सपिङ मल, ब्यापारिक केन्द्र र पसलहरुमा सर्वसाधारणको भिड लाग्ने गथ्र्यो । तर यसपाली त्यस्ता सपिङ मल, ब्यापारिक केन्द्रं र पसलहरुमा सर्वसाधारणको उपस्थिति छैन । ब्यापारीहरुका अनुसार शहर बजारहरु सुनसान छन् । ब्यापार ब्यवसाय ठप्प छ ।

‘गत बर्षसम्म अर्बाै रुपैयाँका चिनिया कपडाको ब्यापार यहिवाट मात्रै हुन्थ्यो, यसपाली सामान पनि छैन, ग्राहक पनि आएका छैनन्,’ काठमाडौंको भोटाहिटीमा रेडिमेट चाइनिज कपडाको ब्यापार गर्ने सिन्धुपाल्चोकका हरि थापा भन्छन् । उनका अनुसार तातोपानी नाका बन्द भएको कारण अधिकांश ब्यापारी भोटाहिटीवाट पलायन भएका छन् ।

इन्धनको अभावको कारण काठमाडौं उपत्यकामा बस्ने धेरै सर्वसाधारण कामठाडौं वाहिर जान पाएका छैनन् । लामो रुटका सार्वजनिक सवारी साधन आवश्यक मात्रामा चल्न सकेका छैनन् । निजी सवारी साधनमा सरकारले नै पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक लगाएको छ । छोटो दुरीका सार्वजनिक सवारी साधन नचल्दा शहरकै एक ठाउमा भएका सर्वसाधारण अर्काे ठाउमा जान सकिरहेका छैनन् ।

यस्तै बजारमा उपभोग्य बस्तुको पनि अभाव हुन थालेको छ । दैनिक रुपमा भान्सामा प्रयोग हुने सूर्यमुखी तेल पाइन छोडेको छ । खानेपानीको अभाव हुन थालेको छ । आम नेपालीले प्रयोग गर्ने सस्तो दरका चिनिया कपडा आएका छैनन् । घरमा ग्यास सकिएको महिना दिन वितेपनि सरकारले ग्यास दिन सकिरहेको छैन । यसवर्षको दशै यस्तै अभाव र पिडामा मनाउनु पर्ने बाध्यता आम नेपालीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.