दशै अगाडि ३ बुलेट ग्यास काठमाडौं भित्र्याउने निगमको प्रयास, पाइएला त ग्यास ?

  २०७२ असोज २८ गते १०:५५     विकासन्युज

काठमाडौं, २८ असोज । तपाइको भान्सामा ग्यास बाँकी छ ? छ भने दशैमा खाना पकाएर खान सक्नु होला, छैन भने विकल्प खोज्नुस् । दशै अगाडि ग्यास पाइने सम्भावना छैन । कुनै कम्पनीको केहि मात्रामा पाइयो भने पनि सामान्य उपभोक्ताले पाउने सम्भावन निकै कम छ ।

तराइ–मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण ग्यासको हाहाकार भएको हो । केहि मात्रामा अन्य डिजेल र पेट्रोल काठमाडौं भित्रने गरेको भएपनि ग्यास भने आउनै छोडेको नेपाल आयाल निगमको भनाइ छ ।
पछिल्लो समयमा नेपालगन्ज, धनगढी र विराटनगर नाकावाट केहि मात्रामा ग्यास नेपाल भित्रिएको छ । तर ती नाकाहरुवाट आएको ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि भएकोले काठमाडौका उपभोक्तालाई ग्यास दिन नसकिएको निगमका ग्यास हेर्ने निमित्त निर्देशक मुकुन्द घिमिरेले भने ।

‘बीरगन्ज नाका खुल्ला नभएसम्म काठमाडौंका उपभोक्ताले ग्यास पाउने सम्भावना एकदमै कम छ, आज (विहिवार) म इन्डियन आयाल कर्पोरेसन (आइओसी) सँग यही विषयमा कुरा गर्न भारत जादैछु, कुनै चमत्कार भएर पाइयो भने छुट्टै कुरा हो, नत्र दशै अगाडि ग्यास दिन सक्ने अवस्थामा हामी छैनौं,’ विहिवार विहान घिमिरेले भने ।

निगमले बीरगन्ज वाहेकका क्षेत्रवाट भित्रिएको केहि बुलेट ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ । ग्यासको अभावमा सर्वसाधारण भोकभोकै पर्न थालेपछि नेपालगन्ज, धनगढी, विराटनगर जस्ता नाकाहरुवाट आएको २ देखि ३ बुलेट ग्यास काठमाडौं ल्याउने र काठमाडौंका उपभोक्तालाई वितरण गर्ने योजना निगमको छ ।

‘बीरगन्ज वाहेकका नाकाहरुवाट आउने ग्यास सोही क्षेत्रका उपभोक्ताको लागि हो, अन्य क्षेत्रवाट भित्रिएको ३ बुलेटसम्म ग्यास काठमाडौं ल्याउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेका छौं, तर पनि सम्भावना निकै कम छ,’ निगमका अर्का एक अधिकारीले भने ।

निगमले केहि दिन पहिला सुगम ग्यासको ३ हजार सिलिन्डर काठमाडौंमा वितरण गरेको थियो । सो ग्यास पनि विराटनगरको प्रिमा ग्यासलाई सुगमका सिलिन्डरमा भरेर वितरण गरिएको निगम स्रोतको भनाइ छ । निगमको अहिलेको प्रयत्न अनुसार ३ बुलेट ग्यास दशै अगाडि काठमाडौं भित्रिएमा सर्वसाधारणले केहि राहतको महसुस गर्न पाउने निगमको भनाइ छ । निगमले करिब एक महिनादेखि ग्यास विक्री वितरण बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.