घटस्थापनादेखि सार्वजनिक विदा भएपनि बैंकिङ्ग सेवा बन्द नहुने, किस्ता तिर्ने समय १ महिना थपिने

  २०७२ असोज २२ गते ११:१४     विकासन्युज

काठमाडौं, २२ असोज । पेट्रोलियम पदार्थको अभावमा सेवा सुचारु गर्न नसकिएको भन्दै सरकारले घटस्थापनादेखि सार्वजनिक विदा दिने तयारी गरेपनि आधारभूत बैंकिङ्ग सेवा भने बन्द नहुने भएको छ ।

दशै–तिहार जस्ता ठूला पर्वमा नयाँ नोटको ब्यवस्थापन गर्नुपर्ने र लामो समय बैंकिङ्ग सेवा बन्द हुदा सर्वसाधारणलाई ठूलो समस्या पर्ने भन्दै नेपाल राष्ट्र बैंकले सेवा आधारभूत सेवा बन्द नगर्ने निर्णय गरेको हो ।

बैंक जस्तो संवेदनशील सेवा लामो समय बन्द गर्दा सर्वसाधारणलाई ठूलो समस्या पर्ने भएको आधारभूत बैंकिङ्ग सेवा सुचारु गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
‘घटस्थापनादेखि नै सार्वजनिक विदा भयो भने पनि राष्ट्र बैंकको बैंकिङ्ग कार्यालय खुल्छ, अहिलेको भन्दा कार्यालय समय केहि हेरफेर गरेर भएपनि सेवा सुचारु गर्न मैले सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु,’ अधिकारीले भने । अहिले गभर्नर डा. चिरन्जीबी नेपाल र अर्का डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले देश वाहिर रहेकाले राष्ट्र बैंक उच्च ब्यवस्थापनको नेतृत्व अधिकारी एक्लैले गरिरहेका छन् ।

यस्तै सवै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आधारभूत बैंकिङ्ग सेवा बन्द नगर्न आग्रह गरिएको राष्ट्र बैंकको भनाइ छ । घटस्थापनादेखि नै सरकारले सार्वजनिक विदा दिए पनि एटिएम काउन्टर, नगद राख्ने र झिक्ने, एक ठाउबाट अर्काे ठाउमा पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवा सुचारु गर्न सवै बैंक तथा वित्तीय संस्था सहमत रहेको राष्ट्र बैंकको भनाइ छ ।

घटस्थापनादेखि नै सरकारले सार्वजनिक विदा दिएमा असोज मसान्तमा तिर्नुपर्ने कर्जाको सावा ब्याज तथा किस्ता तिर्ने समय १ महिना थप गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यद्यपि घटस्थापनादेखि सार्वजनिक विदा दिने औपचारिक निर्णय सरकारले गरिसकेको छैन ।

‘असोज मसान्तमा तिर्नुपर्ने कर्जाको सावा ब्याज तथा किस्ता असोज २५ गते नै तिर भन्ने अवस्था छैन, विदा अघि कसैले बुझाए ठिकै छ, नत्र बाँकी किस्ता र सावा ब्याजको लागि एक महिना समय थप गर्ने गृहकार्य भएको छ,’ अधिकारीले भने ।

राष्ट्र बैंकले समय थप गरेपछि कर्जाको किस्ता रोकिएको भनेर बैंक वित्तीय संस्थाले ऋणीसँग हर्जना लिन पाउने छैनन् भने कर्जाको भाका नाघेको भन्दै उनीहरुले कर्जाको प्रोभिजनिङ्ग पनि गर्नुपर्ने छैन ।

तराइ–मधेशमा जारी आन्दोलन र भूकम्प जस्ता कारणले असोज बैंक तथा वित्तीय संस्थाको असोज मसान्तको नाफा कम हुने नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष अनिल शाहको भनाइ छ ।

‘भूकम्पको असर बाँकी नै थियो, यसमा २ महिनादेखिको तराइ आन्दोलन पनि थपियो, अव कुनै पनि ठूला ऋणीले कर्जाको किस्ता तथा सावा ब्याज समयमै तिर्न सक्ने अवस्था छैन, यसकारण असोज मसान्तमा बैंकहरुको नाफा कम हुने देखिन्छ,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.