जलविद्युत कम्पनीको २ अर्बको सेयर आयो, नाफा घट्दै जाने प्रक्षेपण

  २०७२ असोज २० गते ९:४८     विकासन्युज

काठमाडौं, २० असोज । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेदेखि साधारण सेयर बिक्री खुला गरेको छ । छिटोको कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गरेको हो । १० करोड रुपैयाँको सेयर सामूहिक लगानी कोषको लागि र ४ करोड रुपैयाँको सेयर कर्मचारीको लागि छुट्याईएको छ । एक अर्ब ८६ करोड रुपैयाँको सेयर सर्बसाधारणले खरिद गर्न सक्नेछन् ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर कम्तिमा ५० कित्ता र बढीमा ५० लाख कित्ता सेयर आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

१० अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीमा सर्वसाधारणको २० प्रतिशत मात्र सेयर हुनेछ । ८० प्रतिशत सरकारी निकायको लगानी रहेको छ ।

यस कम्पनीमा अर्थ मन्त्रालयको २ अर्ब, उर्जा मन्त्रालय, कानुन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यलय, कर्मचारी संचयकोष, नागरिक लगानीकोष र राष्ट्रिय बीमा संस्थानको १÷१ अर्ब रुपैयाँ सेयर लगानी रहेको छ ।

कम्पनीको सञ्चालक समिति सेयर स्वामित्वका आधारमा समान छैन । १० प्रतिशत सेयर लिएको कानुन मन्त्रालयले १ जना सञ्चालक पठाउने तर २० प्रतिशत सेयर लगानी गर्ने सर्वसाधारणबाट एक जना मात्र सञ्चालक हुने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले ८ अर्ब लगानी गरेर २०६८ सालमा स्थापना गरेको यस कम्पनीको हाल संचित नाफा ५६ करोड रुपैयाँ छ । तर कम्पनीले आगामी तीन वर्ष नाफा घट्दै जाने प्रक्षेपण गरेको छ । आगामी तीन आर्थिक वर्षमा कम्पनीको नाफा क्रमशः ५६ करोड, ५० करोड र ४९ करोड रुपैयाँ हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.