अफ्रिकन पुनर्बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिएन

  २०७२ असोज १३ गते १२:२०     विकासन्युज

काठमाडौं, १३ असोज । अफ्रिकन पुनर्बीमा कम्पनीले गत बैशाखको विनासकारी भूकम्पको कारण भएको क्षतिको दाबी भुक्तानी गर्न आनाकानी गरेको छ । अन्य सवै पुनर्बीमा कम्पनीले दाबी भुक्तानीको लागि केहि रकम अग्रिम रुपमा प्रदान गरेका भएपनि सो कम्पनीले अहिलेसम्म भुक्तानी नगरेको हो ।

अन्य पुनर्बीमा कम्पनीहरुबाट अग्रिम रुपमा केहि रकम प्राप्त भएपनि अफ्रिकन कम्पनीवाट प्राप्त नभएको गुनासो आएको बीमा समितिले जानकारी दिएको छ । नेपाली बीमा कम्पनीले अफ्रिकन पुनर्बीमा कम्पनीसँग आफ्नो ब्यवसायको करिब १० प्रतिशत पुनर्बीमा गराउने गरेका अनुमान समितिको छ ।

‘अन्य देशका पुनर्बीमा कम्पनीले अग्रिम रुपमै दाबी भुक्तानी गरेर सजिलो गरिरहेका छन्, तर अफ्रिकन पुनर्बीमा कम्पनीले अहिलेसम्म भुक्तानी नै गरेन भन्ने गुनासो नेपाली कम्पनीले गरिरहेका छन्,’ समितिका एक उच्च अधिकारीले भने ।

गत बैशाखको विनासकारी भूकम्पको कारण क्षति भएको भन्दै १८ अर्ब रुपैयाँ भन्दा बढीको दाबी परेको छ । यस्तो दाबी मध्ये नेपाली कम्पनीले अहिलेसम्म २ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ अन्तिम दाबी भुक्तानी र १ अर्ब  ८९ करोड ५१ लाख रुपैयाँ पेश्की स्वरुप दाबी भुक्तानी गरेका छन् ।

नेपाली कम्पनीले यति रकम बीमा दाबी भुक्तानी गरेकोमा पुनर्बीमा कम्पनीवाट २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ पेश्की पाएका छन् । यो रकममा अफ्रिकन पुनर्बीमा कम्पनीवाट एक रुपैयाँ पनि आएको छैन ।

अफ्रिकन पुनर्बीमा कम्पनीले अन्तिम भुक्तानी भएपछि सम्पुर्ण कागजात हेरेर भुक्तानी दिने भन्दै अग्रिम भुक्तानी नदिएको बीमा कम्पनीका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.