पुर्नबीमा कम्पनीले काम थाल्न सकेन, २०७२/७३ को व्यापार गुमाउदै

  २०७२ असार ९ गते १४:४२     विकासन्युज

काठमाडौं, ९ असार । नेपाल पुर्नबीमा कम्पनीले आगामी आर्थिक वर्ष २०७२/७३ मा पनि व्यापार गर्न नसक्ने भएको छ । पाँच वर्षभन्दा बढी लामो तयारीपछि गत कात्तिकमा सञ्चालनमा आएको पुर्नबीमा कम्पनीले गत ८ महिना व्यापार नगरी विताएको छ ।

बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको अन्त्यमा पुर्नबीमा कम्पनीसँग एक वर्षभरीको लागि सम्झौता गर्छन् । बीमा कम्पनीहरुले आगामी आर्थिक वर्ष २०७२/७३ को लागि यही असार मसान्तभित्र पुर्नबीमा सम्झौता गरिसक्छन् ।

तर नेपाल पुर्नबीमा कम्पनीले पुर्नबीमा गराउन अहिलेसम्म कुनै पनि कम्पनीलाई पत्राचार गरेको छैन । ‘आगामी आर्थिक वर्षको लागि पुर्नबीमा गर्ने समय नजिकदै छ । तर नेपाल पुर्नबीमा कम्पनीको तर्फबाट पुर्नबीमा गर्न प्रस्ताव आएको छैन’ एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने ।

पुर्नबीमा कम्पनीले अहिलेसम्म विजनेश प्रपोजल पनि नपठाएको, रेटको बारेमा पनि छलफल नभएको, रिटेन्सनको बारेमा पनि छलफल नभएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् । उनका अनुसार जीवन बीमा कम्पनीहरुको पुर्नबीमा सम्झौता भने जनावरीदेखि डिसेम्भरसम्म हुन्छ ।

नेपाल पुर्नबीमा कम्पनीले शुरुमा नै लिडर (मुख्य) कम्पनीको रुपमा काम गर्ने वा फलोअर (सहायक) कम्पनीको रुपमा काम गर्छ भन्ने पनि स्पष्ट सन्देश बीमा कम्पनीले पाएका छैनन् । लिडर कम्पनीको रुपमा काम गर्ने हो भने बीमा कम्पनी र पुर्नबीमा कम्पनीबीच बीमा सम्झौता (ट्रिटी) हुनुपर्छ । कुनै मुख्य कम्पनीको सहायक कम्पनी भएर काम गर्ने हो भने मुख्य कम्पनीसँग भएको सम्झौताका आधारमा काम गर्छ ।

पुर्नबीमा कम्पनीको सञ्चालक समेत रहेका नेपाल राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईका अनुसार पुर्नबीमा कम्पनीले तयाङ्क संकलनको काम गरिरहेको छ । कति बीमा हुन्छ, कति दावी आउँछ, कति भुक्तानी हुन्छ भनेर क्षेत्रगत रुपमा विस्तृत तथ्याङ्क संकलनको काम भईराखेको छ ।
उनका अनुसार पुर्नबीमा शुरु गर्नुपूर्व पुर्नबीमा कम्पनीले पनि कति जोखिम लिने, कति जोखिम फेरी अर्को पुर्नबीमा कम्पनीमा हस्तान्तरण गर्ने भनेर कम्पनीको बीमा कभर नीति बन्नुपर्छ । त्यस्तै पुर्नबीमा गराउने ब्रोकर कम्पनीहरुको छनौट गर्नुपर्छ । यी काम गर्न बाँकी छ ।

कम्पनी सञ्चालनमा आएपनि व्यवस्थित कार्यलय, दक्ष जनशक्तिको अभावमा पुर्नबीमा कम्पनीले काम गर्न नसकेको जानकारहरु बताउँछन् । कम्पनी विगत दुई महिनादेखि कार्यकारी प्रमुख विहिन अवस्थामा छ । छिट्टै कार्यकारी प्रमुख नियुक्त हुने र पुर्नबीमा कारोबार पनि शुरु हुने कम्पनीको अध्यक्ष शोभाकान्त पौडेल बताउँछन् ।

यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि विरबिक्रम रायमाझी, डा अनिल भट्टराई, चिरायु भण्डारी र दिनेशराज अमात्यले आवेदन दिएका छन् । तर कार्यकारी प्रमुख छनौट समितिले समेत पूर्णता पाएको छैन । कम्पनीका सरकारको तर्फबाट थप्नुपर्ने १ अर्ब २२ करोड रुपैयाँ सेयरपुँजी समेत थपिएको छैन । यस कम्पनीको सेयरपुँजी पाँच अर्ब बनाईदै छ ।

पुर्नबीमा कम्पनीले व्यवसाय नगर्नु सोही कम्पनीको कमजोरी भएको बीमा समितिका अधिकारीहरु बताउँछन् । समितिको तर्फबाट गर्नुपर्ने पुर्नबीमा निर्देशिका बनाएर दिएका छौं, अब हामीले गर्नु पर्ने केही पनि छैन’ समितिका निर्देशक राजुरमण पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.