३० हजार कित्ता नक्कली सेयर बजारमा, जीएनजीका सञ्चालकको संग्लनता

  २०७१ चैत २ गते ११:३६     विकासन्युज

हालै खुलासा भएको फर्जी सेयरको कारोबारमा जीएनजी कम्पनीको संलग्नता रहेको प्रारम्भिक अध्ययनमा भेटिएको छ । कम्पनी सञ्चालक गोविन्द घिमिरेको डिजाइनमा उनीसंगै छत्र थापा, भरतबहादुर थापा, रामहरी अर्याल, अर्यालकी श्रीमती लगायतले एक वर्षदेखि नै सेयरको फर्जी कारोबारमा संलग्न रहेको भेटिएको स्रोतले जानकारी दिएको छ ।
‘करिब ६ महिनाअघि नै छत्र थापाले नेशनल हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबार गरेको खुल्न आएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो,’ स्रोतले भन्यो । उनलाई त्यतिखेर जीएनजी कम्पनीका सञ्चालक अर्यालले जमानतमा छुटाएका थिए । अरुण सेक्युरिटीजमा समेत काम गरेका थापा श्रीहरी सेक्युरिटीजमा कार्यरत रहँदा पक्राउ परेका थिए ।
तर पछिल्ला दिनमा चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा समेत छत्र थापाको संग्लनता भेटिएपछि जीएनजी कम्पनीका अन्य सञ्चालकहरु पनि अनुसन्धानको घेरामा आएका हुन् ।
नेशनल हाइड्रोपावर कम्पनी, चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा जीएनजी कम्पनीका सञ्चालकहरुको संग्लनता भेटिए पनि हरेक पटकको कारोबार फरक÷फरक तरिकाले फर्जी कारोबार गरेको देखिएको छ ।
नेशनल हाइड्रोपावरको २५ लाख कित्ता स्वामित्व नखुलेको, कम्पनीले हकप्रद सेयर जारी गरेर उठेको रकम हिनामिना गरेको भन्दै लगानीकर्ता दीपक कार्की र प्रकाश रजौरेले दुई बर्षअघि पनि पटक पटक आवाज उठाउँदै आएका थिए ।
नेशनल हाइड्रोपावर कम्पनीको सेयरमा कम्पनीको स्तरबाट नै गलत अभ्यास भएको देखिएको थियो । तर चिलिमे जलविद्युत् र सानिमामाईको फर्जी कारोबारमा व्यक्तिगत संलग्नता रहेको नेप्सेका उच्च अधिकारीहरुको बुझाई छ ।
नेशनल हाइड्रोपावर कम्पनीको करिब ११ हजार कित्ता फर्जी सेयर कारोबार गरेको अनुभव लिइसकेका छत्र थापा र उनको टोली अन्य कम्पनीहरुको समेत फर्जी सेयर कारोबारमा अग्रसर भए । थापा फन्र्टलाइनमा देखिएपनि मुख्य योजनाकार भने गोपाल घिमिरे रहेको पनि हालसम्मको अनुसन्धानबाट देखिएको छ । बागबजारमा कार्यालय नै खोलेर यो समूह सक्रिय रहेको खुलेको छ ।
‘सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा यो समुहले बजार सञ्चालकहरुको कमजोरीको फाइदा उठाएको देखिन्छ,’ दोस्रो स्रोतले भने । सानिमामाइ हाइड्रोपावर कम्पनीको १९ कित्ता र एक सय ४३ कित्ता सेयर राफसाफको क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा पुगेको तर नामसारी भएर खरिदकर्ताले नपाएको देखिन्छ ।
‘सीडीएससीबाट ती सेयर हराएको देखिन्छ, त्यही सेयरको नक्कली प्रमाणपत्र बनाएर कारोबार गरिएको आशंका गरिएको छ,’ अर्का स्रोतले भने । सीडीएससीले सेयर राफसाफको लागि दुवै पक्ष स्वयं उपस्थित हुनुपर्ने नियम दुई बर्ष अघि लगाएको थियो । ब्रोकर कर्मचारीका स्टाफ नै प्रमाणपत्र बोकेर सीडीएससीमा जाने गर्दथे । दुई पक्षको उपस्थितिमा मात्रै सेयर राफसाफ गरिन्थ्यो । तर यही क्रममा सानिमामाईको सेयर सीडीएससीमा पुगेर हराएको देखिने दोस्रो स्रोत बताउन्छ ।
चिलिमे जलविद्युत् कम्पनीको भने फर्जी सेयर नै बनाएर कारोबार गरेको, सेयर धितोको रुपमा समेत राखेको देखिन्छ ।
‘चिलिमे जलविद्युत् कम्पनीको फर्जी सेयर बनाएर ल्याएको यस समुहले आफ्नै नाममा म्याचिङ कारोबार गरे, तर फर्जी सेयरको कारोबार भएको थहा भएलगत्तै ब्रोकर कम्पनीको सक्रियतामा यसको खुलासा भएको हो,’ सम्वद्ध स्रोतले भन्यो ।
चिलिमे जलविद्युत् कम्पनीको अनुसुची ‘अस्थाई सेयर’ बनाएर म्याचिङ गरेको देखिन्छ । कम्पनीको करिब १३ हजार पाँच सय कित्ता यस्तो सेयर बनाइएको देखिन्छ । कम्पनीको यही सेयर ब्ल्यांक ट्रान्सफरमा समेत कारोबार गरिएको देखिन्छ । यसरी ब्ल्यांक ट्रान्सफरमा कारोबार गरेको चिलिमेको करिब सात हजार कित्ता सेयर युनाईटेड फाइनान्समा समेत धितोमा राखेको खुलेको छ । ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजको जमानीमा फाइनान्सले बीटी रसिदको आधारमा कर्जा समेत प्रवाह गरेको छ । फर्जी सेयरको कारोबार भएको खुलासा भएपछि युनाईटेडले आइतवार अग्रवाल सेक्युरिटिजसंग छलफल समेत गर्ने भएको छ ।
सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ ।
मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । समुहले कम्पनीको नक्कली छाप, लेटर प्याड नै बनाएर अस्थाई प्रमाणपत्र बनाएको भेटिएको हो ।
नेशनल हाइड्रो ११ हजार कित्ता, चिलिमे जलविद्युत्को १३ हजार पाँच सय कित्ता र सानिमाइमाइको करिब एक सय ६२ कित्ता गरि लगभग ३० हजार कित्ता सेयरको फर्जी काम भएको देखिन्छ ।
नेशनल हाइड्रो कम्पनीमा देखिएको विवाद, समस्या बर्षाैसम्म नियमक निकायले सल्टाउँन नसक्दा त्यसैबाट यो समुह प्ररित भएर फर्जी कारोबारमा लागेको देखिन्छ । नेप्सेले भने अनुसन्धानको क्रममा हाल अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको छ । नेप्सेले यस बिषमा अध्ययन गर्न प्रवक्ता शम्भु पन्त सहित तीन जनाको एक कमिटि गठन गरेको छ । कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ ।
पन्तले यस बिषयमा भने अहिले कुनै जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार अहिले नेप्से र नियमक निकाय धितोपत्र बोर्डबीच यस बिषयमा कुनै सार्वजनिक वक्तव्य नदिने सहमति भएको छ । ‘यस अनुसन्धानमा प्रभाव पर्ने भएकोले कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय गरेको हो,’ नेप्से स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.