दुई तिहाइ वित्तीय सेवा बाग्मतीमा मात्रै

  २०७१ मंसिर २५ गते १०:५८     विकासन्युज

२५ मंसिर । वित्तीय बजारको दुई तिहाइ हिस्सा काठमाडौं उपत्यका र आसपासका जिल्लाले ओगटेका छन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक गतिविधिलाई समेटेर गरेको अध्ययनले यस्तो देखाएको हो ।
काठमाडौं क्षेत्रले कुल कर्जाको ५८ प्रतिशत उपयोग गरेको छ । यस्तै कुल निक्षेपमा ६९ दशमलव ४ प्रतिशत काठमाडौं क्षेत्रबाट मात्रै संकलन भएको छ ।
राष्ट्र बैंकको अनुसन्धान विभाग, आर्थिक विकास शाखा तथा नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) का कार्यक्षेत्रअन्तर्गतका ४७ जिल्लाहरूकोे समग्र आर्थिक गतिविधिसम्बन्धी तथ्यांक एवं सूचना र स्थलगत अध्ययनका आधारमा तयार पारिएको प्रतिवेदनले यस्तो देखाएको हो ।
अध्ययनमा आठ क्षेत्रअन्तर्गत विभिन्न ४७ जिल्लाका गतिविधि समावेश गरिएको छ । काठमाडौं क्षेत्रअन्तर्गत बाग्मती अञ्चलका सबै जिल्ला र दोलखा जिल्ला समावेश गरिएको छ । गत आर्थिक वर्षमा काठमाडौं क्षेत्रबाट मात्रै १० खर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सो आवमा कुल १४ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । गत वर्ष ११ खर्ब ७ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा काठमाडौं क्षेत्रले ६ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ उपयोग गरेको छ ।
काठमाडौंपछि धेरै निक्षेप संकलन गर्ने क्षेत्रमा पोखरा परेको छ । पोखरा क्षेत्रवाट गत वर्ष १ खर्ब ८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो रकम कुल निक्षेपको ७ दशमलव ५१ प्रतिशत हो । पोखरा क्षेत्रले कुल कर्जाको ७ दशमलव ३१ प्रतिशत कर्जा उपयोग गरेको छ । सो क्षेत्रमा गत आर्थिक वर्षमा ८१ अर्ब रुपैयाँ कर्जा गएको छ ।
विराटनगर क्षेत्रले कुल निक्षेपको ५ दशमलब ५८ प्रतिशत हिस्सा ओघटेको छ । सो क्षेत्रवाट गत आर्थिक वर्षमा ८४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । विराटनगर क्षेत्रले कुल कर्जाको १० दशमलब ५८ प्रतिशत हिस्सा उपयोग गरेको छ । गत आर्थिक वर्षमा विराटनगर क्षेत्रमा १ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ कर्जा उपयोग भएको छ ।
जनकपुर क्षेत्रले निक्षेप र कर्जा दुवैको २ दशमलव ४६ प्रतिशत हिस्सा उपयोग गरेको छ । यो क्षेत्रले ३५ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने २७ अर्ब २९ करोड रुपैयाँ कर्जा उपयोग गरेको छ । वीरगन्ज क्षेत्रले कुल निक्षेप संकलनमा ५ दशमलव २६ प्रतिशत योगदान गरेको छ । गत अवमा सो क्षेत्रबाट ७५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तै कर्जाको उपयोगमा वीरगन्ज क्षेत्रको हिस्सा ९ दशमलव ४५ प्रतिशत रहेको छ । सो क्षेत्रले गत आर्थिक वर्षमा १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ कर्जा उपयोग गरेको छ ।
सिद्धार्थनगर क्षेत्रले गत वर्ष कुल निक्षेपको ५ दशमलव ४९ प्रतिशत हिस्सा योगदान गरेको छ । यस्तै कुल कर्जाको ६ दशमलव ५८ प्रतिशत हिस्सा सो क्षेत्रले उपयोग गरेको छ । गत आर्थिक वर्षमा सिद्धार्थनगर क्षेत्रबाट ७९ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो भने ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा उपयोग भएको थियो ।
नेपालगन्ज क्षेत्रबाट गत आर्थिक वर्षमा ३४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेप संकलनमा नेपालगन्ज क्षेत्रबाट २ दशमलव ४ प्रतिशत संकलन भएको छ । यस्तै, कुल कर्जामा नेपालगन्ज क्षेत्रले ३ दशमलव ३८ प्रतिशत हिस्सा उपयोग गरेको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा ३६ अर्ब ३९ करोड रुपैयाँ कर्जा उपयोग भएको थियो ।
निक्षेप संकलन र कर्जा उपयोग दुवैमा धनगढी क्षेत्रको योगदान सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा धनगढी क्षेत्रबाट २२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । कुल निक्षेप संकलनमा धनगढी क्षेत्रको योगदान १ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै ,धनगढी क्षेत्रले गत आर्थिक वर्षमा २५ अर्ब ४० करोड रुपैयाँ कर्जा उपयोग गरेको छ । कुल कर्जामा धनगढी क्षेत्रले उपयोग गरेको अंश २ दशमलव २९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.