समय अगावै मनसुन​​​​​​​ भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३.५ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकासे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताए । 

‘पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ, यद्यपि गत वर्षको तुलनामा बढी छ,’ उनले भने, ‘सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ ।’ 

विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार ७३२ हेक्टरमध्ये हालसम्म ६ लाख २३ हजार १०४.४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।

कोशी प्रदेशमा हालसम्म २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ८१ हजार ६३४.९ हेक्टरमा रोपाइँ भएको छ । जुन २९.५४ प्रतिशत हो । प्रदेशमा गत वर्ष यही अवधिमा ३४.४ प्रतिशत रोपाइँ भएको थियो ।

मधेस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमध्ये ९३ हजार ४६८.२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जुन २५.०८ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही समयमा २५.५ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार बागमती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमध्ये हालसम्म ५१.९ प्रतिशत अर्थात् ६२ हजार ५६१ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये ५५.६ प्रतिशत अर्थात् ५२ हजार ३५३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा प्रदेशमा ४९.७ प्रतिशत रोपाइँ  भएको थियो ।

विभागका अनुसार लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमध्ये १ लाख ५७ हजार ८५७ हेक्टरमा रोपाइँ भएको छ । जुन ५२.१ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही अवधिमा ४४.४ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ७१.७ प्रतिशत अर्थात् २९ हजार २९९ क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो ।

विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन ८२.८ प्रतिशत हो । प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ ।

यस्तो छ वर्षाको अवस्था

जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार मनसुन अवधिमा १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म ३५२ मिलिमिटर अर्थात २३.८ प्रतिशत वर्षा भएको छ ।

महाशाखाले जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको जनाएको छ । सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई नेपालको सरदर वर्षा मान्ने गरिन्छ । 

‘जुन महिनासम्मको तथ्याङ्क विश्लेषण गर्दा समग्रमा सरदर नै वर्षा भएको छ । तर कुनै स्थानमा बढी र कुनै स्थानमा कम वर्ष पनि भएको छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् । 

यसवर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो । सामान्यतया जुनदेखि सेप्टेम्बर सम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु भनिन्छ । मनसुन ऋतु सुरु हुनु अगावै गत जेठ ७ गते नेपालको यसवर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएको थियो । हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि हावापानी आँकलन अध्यावधिक गरिएको थियो । 

जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन अवधिमा मधेस प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको दक्षिण-पूर्वी भूभाग, बागमती प्रदेशको दक्षिणी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । साथै मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

धान उत्पादन

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ  । जुन २०८० सालको तुलनामा ४.०४ प्रतिशतले बढी हो । गत कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा ४ लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो । 

Share News