काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एक/दुई पटक हैन ३० औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताको लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उनी एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुन् ।
कामीरिताले यसपटकको वसन्तयाममा ३१ औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोड्न लागेका छन् । उनले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गरेका थिए ।
पुनः त्यो रेकर्ड तोड्न ३१ औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिए।
‘सगरमाथा आरोहणका लागि एक/दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ,’ उनले भने ।
आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गरे । उनी सेभेनसमिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीलाई लिएर यसपटक सगरमाथा आरोहणमा जान लागेका हुन् ।
३१ औं पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औंल्याए । यसका साथै ३० औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताए ।
सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको ७२ वर्षको अवधिमा ३० औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उनको रेकर्ड कसैले तोड्न सकेको छैन तर प्रकृतिले भने हरेक पटक जसो सगरमाथाको प्राकृतिक स्वरूपको ‘रेकर्ड’ तोड्दै गएको आफूले महसुस गरेको शेर्पाले सुनाए ।
‘मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बदलाव आएको छ । हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ,’ उनले भने ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथ प्रदर्शक समेत हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनका नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताए । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा कीर्तिमानी कामीरिता ३१ औँ पटक सगरमाथा आरोहणका लागि आफ्नो कम्पनीबाट जान लागेकामा खुसी व्यक्त गर्छन् ।
‘सगरमाथाको रेकर्ड राष्ट्रकै लागि गौरवको कुरा हो, यो कुनै व्यक्ति र कम्पनीको मात्रै हैन,’ उनले भने ।
जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा आफ्नो जीवन उत्सर्ग गरेका छन् । एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
सगरमाथा आरोही सङ्घका महासचिव शिव बहादुर सापकोटाले यस वर्ष सगरमाथासहितका हिमाल आरोहण उत्साह वर्द्धक हुने अनुमान गरिएको बताए । उनका अनुसार यस याममा पनि कामीरितासहित विभिन्न आरोही नयाँ कीर्तिमान कायम गर्ने गरी जान लागेका छन् ।
पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ । सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् । अघिल्लो वर्षको आरोहणमा गोरखाकी फुञ्जोझङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाए । यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाए ।
कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ । पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल ३११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणमार्फत ५२ करोड ६४ लाख रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै ४६ करोड रुपैयाँ ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ ।
विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको विभागले जनाएको छ । आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताए । उनले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिए ।
सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले जिम्मेवारी लिँदै आएको छ । पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्नेछ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।
सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाउनुभएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का आरोहण सुरु भए यता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा ८ हजार बढी हुन आउँछ । आरोहीले नयाँ नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।