केयर नेपालले दुई हाइड्रोलाई दियो ‘ग्रेड ४’ रेटिङ, ५४ करोडको आईपीओ जारी गर्ने

  २०७६ जेठ २४ गते १३:१२     विकासन्युज

काठमाडौं । केयर रेटिङ् नेपाल लिमिटेडले दुई वटा हाइड्रोपावरलाई ‘केयर-एनपी आईपीओ ग्रेड ४’ रेटिङ् प्रदान गरेको छ । संस्थाले सिंगटी हाइड्रो इनर्जी र यूनाईटेड इडीमर्डी एण्ड आरबी हाइड्रोपावरलाई आईपीओ(साधारण सेयर) निष्काशन गर्न सो नामको रेटिङ् दिएको हाे ।

यससँगै दुई हाइड्रोले कूल ५४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । जसमध्ये सिंगटीले ४३ करोड ५० लाख र यूनाईटेड इडीमर्डीले १० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् ।

सिंगटी हाइड्रोको केन्द्रिय कार्यालय काठमाडौंको नक्सालस्थित नागपोखरीमा रहेको छ । जसले दोलखा जिल्लामा २५ मेगावाट सिंगटी खोला हाइड्रोपावर परियोजना विकास गर्नलाई लाइसेन्स प्राप्त गरेको छ ।

त्यस्तै, यूनाईटेड इडीमर्डीको केन्द्रिय कार्यालय ललितपुरको सानेपामा रहेको छ । जसले कास्कीस्थित लुगाघालमा रहेकाे स्थापित क्षमता ७ मेगावाट रहेको माथिल्लो मर्दी जल विद्युत परियोजना विकास गर्नलाई लाइसेन्स प्राप्त गरेको छ ।

ग्रेड ४ काे रेटिङ् पाएका यी दुबै कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखिन्छ ।