प्रगति ढकाल

मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता

काठमाडौं । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रीपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेश अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८०.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ । विभागका अनुसार साउन ४ गतेसम्म मुलुक भर ७२.१४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । मधेस प्रदेश अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बिउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए ।  ‘अहिले मधेसका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन । सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने ।  राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले साउनको २०–२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए ।  ‘उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समय समयमा धानले सिँचाइ पाउनुपर्छ । तर नेपालका अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेला वर्षा भएको छैन । मधेसको अवस्था हेर्दा अब नै धान उत्पादन घट्ने देखिन्छ, अझै वर्षा भएन भने उत्पादनमा बढी ह्रास आउन सक्छ,’ उनले भने ।  बाली विद् डा डिल्लीराम शर्माले पनि मधेस क्षेत्र धान उत्पादनको हब नै रहेको भन्दै मधेसमा सुक्खाका कारण धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको बताए ।  ‘धानको बिउ सुकिसकेको छ । रोप्न नपाएपछि अनि बिउ छिपिँदै जान्छ र छिप्पिएको बिउ रोप्दा पनि उत्पादनमा कमी आउँछ । रोपेर मात्र पनि भएन सिँचाइको राम्रो सुविधा आवश्यक पर्छ,’ उनले भने, ‘भविष्यमा पनि यस्तै समस्या आउन सक्छ । तसर्थ सुक्खा क्षेत्रमा लगाउन सकिने बालीबारे अनुसन्धान गर्नुपर्छ र अब वैकल्पिक बालीबारे सोच्नुपर्छ ।’ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)को तथ्याङ्कअनुसार मनसुन अवधिमा मुलुक भर १ हजार ४०० मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब ५ सय मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४.९ प्रतिशत वर्षा भएको छ ।  विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखरा लगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ ।  ‘जनकपुरमा मनसुन सुरू भएयता २० प्रतिशत वर्षा भएको छ । जनकपुरमा मनसुन अवधिमा औसत १ हजार १०० मिलीमिटर वर्षा हुने गर्छ,’ शाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।   जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइ योग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्ष भरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्याङ्कमा उल्लेख छ ।  अकासे पानीकै भरमा मधेसमा ५१ प्रतिशत रोपाइँ  मधेस प्रदेश अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा चौधरीले मधेस प्रदेशको कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा रहेको जानकारी दिए । उनका अनुसार सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्युबवेल र डिपबोरिङ रहेको छ । ‘तर अहिले भएका कतिपय नहरबाट पनि पानी पाउँदैन । अन्नको मुख्य भण्डार रहेको मधेस प्रदेशमा सिँचाइ आयोजनालाई प्राथमिकता नदिए आगामी दिनमा यस्तै समस्या भोग्नु पर्छ,’ उनले भने, ‘अधिकांश किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गराैँला भनेर बस्नुपर्ने बाध्यता छ ।’  कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ उत्पादनको २४.१ प्रतिशत योगदान पुर्याउनुको साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ । मधेस प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस प्रदेशमा जम्मा ५ लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिने छ भने जम्मा ५ लाख २ हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । जसमध्ये कुल ३ लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ ।  बर्खे धानको उत्पादन एक लाख २७० मेट्रिक टन छ भने उत्पादकत्व ४.८१ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार यस प्रदेशमा चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१.९ मेट्रिक टन र उत्पादकत्व ३.४१ मेट्रिक टन प्रतिहेक्टर छ । मधेस प्रदेश दोस्रो आवधिक योजना, २०८१/८२-२०८५/८६ अनुसार आव २०७९/८० मा मधेस प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३५.०२ प्रतिशत छ ।   मनसुनी वायु कमजोर हुँदा कम वर्षा  जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसम विद् डेबिड ढकालले मनसुनी वायु कमजोर हुँदा मधेस प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको जानकारी दिए ।  ‘मधेस क्षेत्रमा पानी नै नपरेको त होइन । कतै भारीदेखि अति भारी वर्षा पनि भएको छ । कतै वर्षा नै भएको छैन । अनि अति भारी नै वर्षा भए पनि धेरै बेर वर्षा भएको छैन,’ उनले भने, ‘आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दा कोशीका पहाड र तराई, मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । तर थोरै समय पानी पर्दा कृषिमा राहत भने नपुग्न सक्छ । अर्को साता भने राम्रो वर्षा हुने अनुमान छ । तर कहिलेकाहीँ मौसमी प्रणाली परिवर्तन भइदिएर फरक पर्न सक्छ ।’ केन्द्र र प्रदेश सरकारबाट अनुगमन कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले तराईमा सुक्खाका कारण कृषिमा देखिएको असर पत्ता लगाउन र समस्या समाधानमा के गर्न सकिन्छ भनेर अनुसन्धान गर्न मधेस प्रदेशमा अनुगमन भइरहेको जानकारी गराए ।  ‘सुक्खा कारण रोपाइँलाई असर गरिरहेको छ, रोपाइँ सकिए पनि सिँचाइ हुन सकिरहेको छैन । तसर्थ हामी अहिले मधेस प्रदेशमा अनुगमनमा आएका छौँ,’ उनले भने, ‘मधेस प्रदेशमा सुक्खाका कारण देखिएको समस्याबारे छिट्टै हामी प्रतिवेदन तयार गर्नेछौँ ।’ मधेस प्रदेश सरकारले यही असार २६ गते मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेपश्चात प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रोपाइँ अवस्था तथा सुक्खा क्षेत्रको प्रारम्भिक स्थलगत निरीक्षणसम्बन्धी समिति बनाएको थियो । समितिले प्रदेशका आठवटै जिल्लामा टोली परिचालन गरी असारसम्मको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।  स्थलगत निरीक्षणको क्रममा सतही सिँचाइबाट (मुख्य नदी र त्यसका नहरबाट) सिञ्चित हुने जिल्लामध्ये सप्तरी–कोशी तथा चन्द्र नहर, रौतहट-बागमती तथा झाँज नहर, सर्लाही बागमती तथा मनुषमारा सिँचाइ, बारा र पर्सा–गण्डक नहर पाइएको थियो । त्यसैगरी, सिरहा र धनुषाका केही पालिकामात्र कमला नहरबाट सिञ्चित हुने र बाँकी अधिकांश पालिकाहरू भूमिगत सिँचाइबाट (स्यालो तथा डिपट्युबवेल) सिञ्चित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।  महोत्तरीमा रातु खोला रहेता पनि भूमिगत सिँचाइ (स्यालो तथा डिप ट्युबवेल) नै सिँचाइको मुख्य स्रोत रहेको पाइयो । सतही सिँचाइको व्यवस्थापन, मर्मत तथा निर्माण हुनुपर्ने, भूमिगत डिप ट्युबवेलहरूलाई सञ्चालन योग्य बनाउने पहलको आवश्यकता रहेको, भूमिगत सिँचाइको गहिराइसम्बन्धी अध्ययन गराई दीर्घकालीन सिँचाइ प्रणालीको व्यवस्थापन हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । कृषि प्रणालीमा केही परिवर्तन गर्नुपर्ने, छरुवा विधिबाट धान रोपाइँ, सुक्खा जातका धानहरूको प्रवर्द्धन तथा प्रदर्शन, बाली लक्षित सहुलियतको व्यवस्था राहत प्रदान गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।   गत वर्ष धान उत्पादनको अवस्था मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष (२०८० साल) को तुलनामा गत वर्ष (२०८१) मा ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो ।  विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा ४ लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।   अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (२०८१) मा उत्पादन वृद्धि दर कोशी प्रदेशमा २.१६ प्रतिशत, मधेस प्रदेशमा १०.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४.०६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६.१९ प्रतिशत रहेको थियो । तर बागमती प्रदेशमा १.१३ प्रतिशत, गण्डकी प्रदेशमा ३.२२ प्रतिशत, कर्णाली प्रदेशमा १०.३ प्रतिशतले उत्पादनमा ह्रास आएको थियो । रासस 

समय अगावै मनसुन​​​​​​​ भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३.५ प्रतिशत रोपाइँ भएको थियो । विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकासे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताए ।  ‘पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ, यद्यपि गत वर्षको तुलनामा बढी छ,’ उनले भने, ‘सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ ।’  विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार ७३२ हेक्टरमध्ये हालसम्म ६ लाख २३ हजार १०४.४७ हेक्टरमा रोपाइँ भइसकेको छ । कोशी प्रदेशमा हालसम्म २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ८१ हजार ६३४.९ हेक्टरमा रोपाइँ भएको छ । जुन २९.५४ प्रतिशत हो । प्रदेशमा गत वर्ष यही अवधिमा ३४.४ प्रतिशत रोपाइँ भएको थियो । मधेस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमध्ये ९३ हजार ४६८.२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जुन २५.०८ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही समयमा २५.५ प्रतिशत रोपाइँ भएको थियो । विभागका अनुसार बागमती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमध्ये हालसम्म ५१.९ प्रतिशत अर्थात् ६२ हजार ५६१ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये ५५.६ प्रतिशत अर्थात् ५२ हजार ३५३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा प्रदेशमा ४९.७ प्रतिशत रोपाइँ  भएको थियो । विभागका अनुसार लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमध्ये १ लाख ५७ हजार ८५७ हेक्टरमा रोपाइँ भएको छ । जुन ५२.१ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही अवधिमा ४४.४ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ७१.७ प्रतिशत अर्थात् २९ हजार २९९ क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो । विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन ८२.८ प्रतिशत हो । प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ । यस्तो छ वर्षाको अवस्था जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार मनसुन अवधिमा १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म ३५२ मिलिमिटर अर्थात २३.८ प्रतिशत वर्षा भएको छ । महाशाखाले जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको जनाएको छ । सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई नेपालको सरदर वर्षा मान्ने गरिन्छ ।  ‘जुन महिनासम्मको तथ्याङ्क विश्लेषण गर्दा समग्रमा सरदर नै वर्षा भएको छ । तर कुनै स्थानमा बढी र कुनै स्थानमा कम वर्ष पनि भएको छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् ।  यसवर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो । सामान्यतया जुनदेखि सेप्टेम्बर सम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु भनिन्छ । मनसुन ऋतु सुरु हुनु अगावै गत जेठ ७ गते नेपालको यसवर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएको थियो । हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि हावापानी आँकलन अध्यावधिक गरिएको थियो ।  जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन अवधिमा मधेस प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको दक्षिण-पूर्वी भूभाग, बागमती प्रदेशको दक्षिणी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । साथै मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । धान उत्पादन कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ  । जुन २०८० सालको तुलनामा ४.०४ प्रतिशतले बढी हो । गत कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा ४ लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।