काठमाडौं महानगरको सिप मेला : ५ हजारलाई रोजगारी र १५ हजारलाई तालिममा जोड्ने लक्ष्य

  २०८१ वैशाख १९ गते ६:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुंडिखेलमा ‘सिप मेला’ आयोजना गर्दै छ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन।

‘१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम महानगरले उपलब्ध गराउने छ,’ उनले भनिन् । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको डंगोलले बताइन।

बजारमा सिपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बिचमा ठूलो खाडल भएको बताउँदै उक्त खाडललाई पुर्न तालिम सञ्चालन गरिएको उनले बताइन।

‘एकातिर रोजगारदाताको सिपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरूमा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ,’ उनले भनिन्, ‘रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यववसायिक तालिमको आवश्यकता महसुस गरेर सिप मेला कार्यक्रम आयोजना गरिएको हो ।’

सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै महानगरले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने उद्देश्य लिएको उनले बताइन् । कम्तिमा ५ हजार मानिसलाई रोजगारीसँग जोड्ने र १५ हजार मानिसलाई तालिमसँग जोड्ने लक्ष्य महानगरले राखेको पनि उनले बताइन् ।

सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको व्यक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउने विश्वास महानगरले राखेको छ। साथै, विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा महानगरले राखेको उनको भनाइ छ ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले बताए। उनका अनुसार मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना छ।

सुरु गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ ।

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, बार टेन्डिङ् र वेटर-वेट्रेस प्रशिक्षण हुनेछ ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

क्रमशः पाँचौं र छैटौं क्षेत्रमा मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ।

सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनि‌ङकाे कक्षा हुनेछ ।

आठौँ क्षेत्र ब्युटिसियन ९सौन्दर्य कला० हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ । नवौं क्षेत्र डिजाइनिङ् हो। यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ र दशौं विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनेछन् र सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने अधिकारीले बताए।

त्यसका साथै सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम रहेको उनले बताए। उनका अनुसार सामुदायिक विद्यालयको कक्षा ९ र १० मा पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम रहेको उनले बताए । त्यस्तै साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.