१९ मन्त्रीसँग ८९१ तोला सुन र साढे ४ हजार तोला चाँदी, उपहारमा दाईजो

  २०८१ जेठ ८ गते २१:२६     विकासन्युज

काठमाडौं । नेपाल सरकारका वहालवाला मन्त्रीहरूसँग ८ सय भन्दा बढी तोला सुन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणहरू अनुसार १९ जना मन्त्रीहरूसँग ८१९ तोला सुन रहेको छ ।

यस्तै, सोही विवरणमा मन्त्रीहरूसँग ४ हजार ४४१ तोला चाँदी र १० तोला हिरा रहेको तथ्याङ्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग सुनचाँदी नरहेको विवरण छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ५ तोला सुन रहेको छ । उक्त सुन पैतृक सम्पत्ति रूपमा उल्लेख गरिएको छ । यस्तै, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । यस्तै, ७ थान औँठी, ३ थान सिक्री (हार जस्तो देखिने), ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् । पैतृक तथा उपहार स्वरूप र खरिद गरी उक्त सुनचाँदी जोडेको विवरणमा उल्लेख गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेकलेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी, बाला गरी करिब ८० तोला सुन र चाँदीका भाँडाकुडा सामानहरू गरेर १५.२० केजी चाँदी रहेका छन् । चाँदी प्रतितोला २५० रुपैयाँ र ३ सय रुपैयाँ मूल्य हुँदा खरिद गरेको बताइएको छ । सम्पत्ति विवरण अनुसार अधिकांश बुवाआमाबाट र केही सुनचाँदी गृहमन्त्री लामिछानेकी श्रीमति निकिता पौडेलले खरिद गरेको उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतसँग विभिन्न समयमा तलब भत्ताबाट खरिद गरेको ५ तोला सुन रहेको छ । चाँदी (भाडाकुडा र सिक्का सहित) उल्लेख गरेको भएपनि परिमाण छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी छ । पैतृक सम्पत्ति, विवाहको दाइजोबाट उक्त सुनचाँदी प्राप्त भएको उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन र ७÷८ तोला चाँदी रहेको छ । तलब भत्ताबाट उक्त सुनचाँदी खरिद गरेको उल्लेख छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग ६ तोला सुन र २ तोला चाँदी रहेको छ । पैतृक तथा उपहार स्वरूप उक्त सुनचाँदीको प्राप्त गरेको उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग २३ तोला सुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहसँग १० तोला सुन र २५ तोला चाँदी रहेको उल्लेख छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० तोला सुन रहेको छ । उक्त सुन २०४०, २०५५, २०६० र २०७४ सालमा खरिद गरिएको बताइएको छ । उक्त सुनको खरिद मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ । स्वआर्जन र छोराको कमाईबाट उक्त सुन खरिद गरेको स्रोतमा खुलाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले श्रीमतिको नोकरी तथा कृषि व्यवसायबाट भएको आम्दानीबाट विभिन्न समयमा ६ तोला सुन खरिद गरेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग ७५ तोला सुन र २५ केजी चाँदी, खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग १० तोला सुन र १ सय तोला चाँदी, रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग २५ तोला सुन र सहरी विकासमन्त्री धन बहादुर बुढासँग १५० तोला सुन र ३ सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन, १ सय तोला चाँदी, १० तोला हिरा छ । उक्त सुनचाँदी र हिरा २०७४ सालअघि खरिद गरेको र स्रोत व्यापार रहेको छ । खरिद मूल्य अनुसार सुन ८२ लाख २० हजार रुपैयाँ, चाँदी ७४ हजार ५ सय रुपैयाँ र ५ लाख ४० हजार रुपैयाँ गरी ८८ लाख रुपैयाँ बराबर हुन आउँछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन, १ सय तोला चाँदी, १ सेट हिरा, १ सेट हिराको टप रहेको छ । सम्पत्ति विवरण अनुसार १० तोला सुन विवाहको बेला र १ तोला हजुरआमाको शेष पछि प्राप्त गरेको बताइएको छ । चाँदी र हिराको सेट भने विवाहको बेला उपहार पाएको र हिराको टप भने हजुर आमाको शेष पछि प्राप्त गरेको उल्लेख छ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठसँग विभिन्न मितिमा खरिद गरेको १५ तोला सुन, ५० तोला चाँदी रहेको छ ।

वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीसँग १५८ तोला सुन र १ हजार ४२९ ग्राम चाँदी रहेको छ । सम्पत्ति विवरण अनुसार श्रीमति सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी र छोरा सुमित कुमारसँग ३५ तोला सुन रहेको छ । यस्तै, बुहारीहरू माधवी भारती २२ तोला सुन र ३३९ ग्राम चाँदी, शालिनी देवीसँग १७ तोला सुन र २७० ग्राम चाँदी र मंजु साहसँग २८ तोला सुन र १७० ग्राम चाँदी रहेको छ । उक्त सुनचाँदी विवाहको समयमा ससुराली र बुवाआमाबाट उपहार स्वरूप प्राप्त गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.