काठमाडौंका १ लाख २५ हजार बालबालिकालाई आइपिभि’ खोप लगाइने

  २०८१ जेठ ८ गते १८:२८     विकासन्युज

काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ ।

सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।

जनस्वास्थ्य कार्यालय, काठमाडौंले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौं जिल्लाका १ लाख २५ हजार १ सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए ।

उनले काठमाडौंका १ हजार ४ सय २१ विद्यालयका अतिरिक्त ७ सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि २ सय ७८ स्वास्थ्यकर्मी र ५ सय ५६ स्वयम्सेविका परिचालन गरिने बताए ।

नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको संक्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । ‘नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि संक्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ,’ उनले भने ।

त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

उनले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनको भनाइ छ ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड रुपैयाँ बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.