अधिकांश मन्त्रीको घरजग्गा र सुनमा मोह, यी हुन् सबैभन्दा धनाड्य मन्त्री

  २०८१ जेठ ८ गते १७:३५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ ।

सार्वजनिक सम्पत्ति अनुसार। अधिकांश मन्त्रीहरूको घरजग्गा र सुनमा लगानी भएको देखिन्छ । कतिपयले सेयर बजारमा पनि लगानी गरेका छन् भने केही मन्त्रीहरूले विभिन्न व्यवसायमा पनि व्यावसायिक साझेदारको रूपमा काम गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति सार्वजनिक भएको छैन ।

कुनको सम्पत्ति कति ?

१. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको विवरण अनुसार प्रधानमन्त्रीसँग सो सम्पत्ति देखिएको हो । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

यस्तै, उनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेडसँग २५ लाख नगद मौज्दात रहेको उल्लेख छ ।

२. रघुबीर महासेठ, भौतिक पूर्वाधार मन्त्री

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको २ करोड २५ लाख रुपैयाँ नगद रुपैयाँ रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरण अनुसार उनीसँग ४३ तोला सुन, १.५ केजी चाँदी रहेको छ ।

काठमाडौं र ललितपुरको जग्गा बिक्री पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेका हुन् । साथै उनीसँग ७ थान औँठी, ३ थान सिक्री, ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् ।

उनकी श्रीमति जुली कुमारी महत्तोको नाममा धुनषा र ललितपुरमा २ वटा घर र विभिन्न ५ ठाउँमा जग्गा रहेको छ । मन्त्री महासेठको नाममा विभिन्न ७ बैंक र श्रीमति महत्ताको विभिन्न नाममा विभिन्न ७ वटा बैंकमा बैंक खाता छन् ।

यस्तै, महत्ताको स्वामित्वमा गुडविल फाइनान्समा ५ लाख रुपैयाँ, महिला लघुवित्तमा १ करोड रुपैयाँ, कर्पाेरेट बैंकमा २ करोड ५० लाख रुपैयाँ गरी ३ करोड ५५ लाख बराबरको सेयर स्वामित्व रहेको छ ।

३. नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।

एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् ।

४. रवी लामिछाने, गृहमन्त्री

गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको उल्लेख छ ।

यस्तै, उनीसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुडा रहेको उल्लेख छ । यो सम्पत्ति श्रीमती निकिता पौेडलेको आमाबुबाले खरिद गरेको बताइएको छ । यो श्रीमतीको सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यस्तै, रविको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता छ । ती दुई बैंकमा १ लाख ५५ हजार बचत छ भने श्रीमती पौडेलको नाममा पाँच बैंकमा बचत छ । ती बैंकमा ५ लाख ५८ हजार बढी बचत देखिन्छ ।

उनीसँग घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनको श्रीमती पौडेलसँग एक विद्युतीय गाडी रहेको छ भने उनकै नाममा ८ करोड ७५ लाखको गोपीकेष्णमा सेयर स्वामित्व रहेको छ ।

५. वर्षमान पुन, अर्थमन्त्री

अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ ।

उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ ।

६. बिराजभक्त श्रेष्ठ, खेलकुद मन्त्री

युवा तथा खेलकुल मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सयर रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ ।

उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन भएको घोषणा गरेका छन् ।

नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् ।

७. डोल प्रसाद अर्याल, श्रममन्त्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनीसँग १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । मन्त्री अर्यालले उल्लेख गरे अनुसार सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ ।

मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा ३ करोडको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा १२ स्थानमा जग्गा रहेको छ ।

अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।

श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको सेयर रहेको छ । साविक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) मा १० हजार कित्ता, विग इन्भेस्टमेन्टमा ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता, जनसागर सहकारीमा १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार कित्ता र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशिल प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ । अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।

८. सुमना श्रेष्ठ, शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्री श्रेष्ठको ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना र १ सेट हिरा रहेको छ ।

यस्तै, मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा विभिन्न बैंकमा ६ करोड रुपैयाँ नगद बचत रहेको पनि सार्वजनिक गरिएको छ । एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ लाख १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उनले उल्लेख गरेकी छिन् । यस्तै काभ्रेमा ८ वर्ग क्षेत्रेफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा पनि श्रेष्ठको नाममा रहेको विवरणमा खुलाइएको छ ।

शिक्षामन्त्री श्रेष्ठलाई उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवतरणमा उल्लेख छ । उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि उल्लेख गरेकी छिन् ।

९. भानुभक्त जोशी, सामान्य प्रशासन मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वी नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ ।

मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ ।

१०. शक्तिबहादुर बस्नेत, उर्जा मन्त्री

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको उनको सम्पति विवरणमा उल्लेख भए अनुसार जाजरकोटमा ४ रोपनी १‍३ आना जग्गा रहेको छ । छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा उक्त जग्गा रहेको उल्लेख छ ।

उनीसँग सुन ५ तोला रहेको छ । एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख तथा बैंक उल्लेख नगरिएको ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ ।

११. बलराम अधिकारी, सहकारी मन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा छ ।
उनको कपिलवस्तुका विभिन्न स्थानमा २ बिघा जमिन रहेको र ५ कठ्ठा जमिनमा घर रहेको पनि सम्पत्ति विवरणमा देखाएका छन् ।

यसवाहेक गरिबी निवारमन्त्री अधिकारीले दुई व्यक्तिलाई २५ लाख र २० लाख गरी ४५ लाख ऋण दिएको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन रहेको सार्वजनिक गरेका छन् ।

१२. नवलकिशोर साह, वनमन्त्री

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख रुपैयाँ बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ

उनले सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको पनि बताएका छन् । उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न ठाउँम घर रहेको बताएका छन् ।

१३. हितबहादुर तामाङ, पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ ।

उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट किनेको विवरणमा खुलाइएको छ । त्यसैगरी उनको जन्मस्थान नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ ।

१४. भगबती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री

महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री भगबती चौधरीसँग सुनसरीको दुहबी र काठमाडौंमा गरी २ वटा घर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार काठमाडौंको घर २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको हो ।

साथै, मन्त्री चौधरीसँग सुनसरी र दाङ्गका विभिन्न ६ ठाउँमा जग्गा रहेको छ भने २५ केजी चाँदी र ७५ तोला सुन रहेको छ ।

मन्त्री चौधरीको विभिन्न बैंकमा १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरी फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक सेयरधनी हुन् । उक्त लघुवित्तमा चौधरीको २ लाख ४२ हजार १०५ कित्ता सेयर छ भने अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

उनले नेपाल बैंकबाट ६० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड रुपैयाँ ऋण लिएको छ । साथै उक्त ऋण विभिन्न समयमा चुक्ता गरिसकेको बताइएको छ । ४ लाख ६५ हजारको मोटरसाइकल रहेको छ ।

१५. दामोदर भण्डारी, उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको रहेको बताएका छन् ।

त्यस्तै, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् ।

प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख गरेका छन् । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि रहेको बताएका छन् ।

१६. रेखा शर्मा, सञ्चारमन्त्री

सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणमा सञ्चारमन्त्री शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ । यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन् । यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ ।

सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ ।

१७. धनबहादुर बुढा, सहकारी विकास मन्त्री

सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग विभिन्न ठाउँमा जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ ।

यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै, उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक मौज्दात रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।

१८. हरी प्रसाद उप्रेती, रक्षामन्त्री

रक्षामन्त्री हरीप्राद उप्रेतीसँग घरपरिवारका सदस्यको नाममा तीन ठाउँमा घर र दुई ठाउँमा जग्गा रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग सर्लाहीमा दुई ठाउँमा ३५ कठ्ठा जग्गा रहेको उल्लेख छ । यस्तै, उनीसँग २५ तोला सुन र एउटा गाडी रहेको छ ।

१९. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री

खानेपानी मन्त्रीको धनकुटामा एउटा घर र दुई ठाउँमा जग्गा रहेको खुलेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनीसँग १० तोला सुन र १०० तोला चाँदी रहेको छ ।

उनको बैंकमा ५५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् ।

२०. ज्वाला कुमारी साह, कृषि मन्त्री

कृषि मन्त्री ज्वालाकुमारी साहको बारामा तीन ठाउँमा घर रहेको विवरण सार्वजनिक भएको छ । उनको सो पुख्र्यौली घर रहेको विवरणमा उल्लेख छ । त्यस्तै, ५० लाखमा खरिद गरेको जग्गा, १० तोला सुन र २५ तोला चाँदी रहेको सम्पत्ति सार्वजनिक गरेकी हुन् । बैंकमा ४० हजार रुपैयाँ बचत रहेको सार्वजनिक गरेकी छन् ।

२१. पदम गिरी, कानुन मन्त्री

कानुन मन्त्री पदम गिरीसँग पर्वतको कुस्मामा एउटा घर रहेको छ भने पर्वतमै दुई ठाउँमा पैतृक सम्पत्तिको रुपमा ११ आना जग्गा रहेको छ । उनीसँग २३ तोला सुन रहेको छ भने बैंकमा एक लाख रुपैयाँ बचत रहेको सार्वजनिक गरेका छन् ।

उनीसँग ५० लाख बराबरको पोखरामा पार्टी प्यालेस रहेको छ । उनको बैंकमा ४० लाख ऋण रहेको पनि सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.