लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : अध्यक्ष अग्रवाल

  २०८१ वैशाख १५ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन् । यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उनको भनाइ छ ।

‘अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने हो, यसको नतिजा दीर्घकालमा देखिन्छ’, उनले भने, ‘हामीले सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्याङ्कन गर्नुहुन्छ । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय र प्राविधिक पक्षहरु पनि यसमा हेरिन्छ ।’ विभिन्न देशका लगानीकर्ता जम्मा भएर यो सम्मेलन हुनु आफैँमा एउटा ठूलो उपलब्धि भएको उनको बुझाइ छ ।

उनले कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको बताए । यस्तो बेलामा लगानीको ठूलो महत्व र आवश्यकता रहेकाले विकासको आवश्यकता पूर्ति गर्न ठूलो मात्रामा लगानी चाहिने उनले बताए । ‘लगानी नभईकन रोजगारी सृजना हुन सक्दैन, नयाँ-नयाँ उद्योग-व्यवसाय सञ्चालन हुने अवस्थामा छैन,’ उनले भने, ‘त्यसकारण लगानी सम्मेलनको आवश्यकता देखेर निजी क्षेत्र सहभागी भएको हो ।’

निजी क्षेत्र पनि सहआयोजक हुनु अघिल्ला दुई सम्मेलनभन्दा तेस्रो सम्मेलनको फरकपन भएको अग्रवालले स्पष्ट पारे । सम्मेलनमा ५५ भन्दा बढी देशका लगानीकर्ताहरु आउँदैछन् । सम्मेलनका लागि एक सय ५० हाराहारीमा परियोजना सोकेसमा राखिएका छन् तर लगानी सम्मेलन यतिमा मात्र सीमित नहुने र लगानी प्राथमिकताका क्षेत्र पहिचान गरिसकेको उनले जानकारी दिए ।

उनले लगानीको वातावरणमा सुधार गरिएकोले त्यसको सन्देश लगानीकर्तालाई दिनु आवश्यक रहेको औँल्याए । सरकारी पक्षबाट मात्र नभई निजी क्षेत्र-निजी क्षेत्र (बिटुबी) मा पनि सहकार्यका लागि सम्मेलन फलदायी हुने उनको आशा छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, अन्य पूर्वाधार क्षेत्र लगानीका उत्कृष्ट क्षेत्रका रुपमा पहिचान भएका छन् ।

लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले कानुनी सुधारको प्रक्रिया थालिसकेकाले केही ऐनलाई संशोधन गर्न ल्याउन लागिएको अध्यादेशमार्फत कानुनी सुधारका प्रयासहरुले मूर्त रुप लिँदै गएको अध्यक्ष अग्रवालको भनाइ छ । सरकारले लगानी सम्मेलनकै समयमा यस्ता कानुन सुधार गरेर लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिन चाहेको उनले बताए ।

‘यो सम्मेलनले निजी क्षेत्रको आकाङ्क्षा पूर्ण रुपमा पूरा गर्छ भन्ने ठोकुवा गर्न नसके पनि यो सुरुआत हो, लगानीमैत्री वातावारण बनाउन तत्पर छौं भनेर सरकारले प्रतिबद्धता पनि सम्मेलनमार्फत लगानीकर्तालाई गर्नेछ,’ उनले भने, ‘सुधारको वातावरण बन्दै गएपछि स्वदेशी र विदेशी दुवै खालका लगानीकर्तालाई अवसर सृजना गर्नेछ ।’

पानी र लगानीको प्रकृति समान हुने उनले जिकिर गरे । पानी र लगानी जता ओरालो छ, त्यतै बगे जस्तै हुने उनले उदाहरण दिए । कानुनी, प्रक्रियागत र प्रशासनिक सुधारका माध्यमबाट लगानीका लागि सहज वातावरण बनाएर लगानी सम्मेलनमा निजी क्षेत्रले लगानीका लागि ओरालो धराताल बनाउनुपर्ने उनको तर्क छ ।

यो दुईदिने लगानी सम्मेलनलाई सफलता र असफलतासँग दाँज्न नमिल्ने उनको बुझाइ छ किनभने नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भनेर एउटा आधार तयार पार्ने लक्ष्य मात्र भएकाले यसमा अरू धेरै सकारात्मक पक्षहरु लगानी सम्मेलनपछि बिस्तारै देखिँदै जानसक्ने उनले बताए । अहिले सरकारले गरेको प्रतिबद्धताहरुले पनि त्यो आशा उनमा पलाएको हो ।

‘नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण बनेको छ भनेर सन्देश दिन सरकारले मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) को प्रक्रिया सुरु गरिसकेको छ’, उनले भने, ‘कन्ट्री रेटिङ भएपछि नेपालको वास्तविक अवस्था बुझेर विदेशी लगानीकर्ताहरु त्यहाँका बैङ्क तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर आउँछन् । कर्जा लिएर लगानी गर्न उनीहरुलाई सहज हुन्छ ।’ विभिन्न परियोजनामा लगानीका लागि हेजिङ, सम्भाव्यता न्यून परिपूर्ति कोष (भिजिएफ) लगायतका व्यवस्था सरकारले गरेको उनले जानकारी दिए । सबैभन्दा महत्वपूर्ण पक्ष समग्र वातावरण सहजीकरणका लागि सरकारले गरेको प्रतिबद्धता हो ।

अहिलेको कानुन संशोधन प्रक्रिया निजी क्षेत्रसँगको सल्लाह र सुझावका आधारमा अघि बढेकाले पनि सकारात्मक रुपमा उनले लिएका छन् । विदेशी लगानी भित्र्याउन मुख्य तीनवटा कुरा महत्वपूर्ण हुने उनको सुझाव छ । पहिलो सहज प्रवेश (इजी इन्ट्री), दोस्रो सहज निकास (स्मुथ एक्जिट) र तेस्रो लगानीको प्रतिफल फिर्ता लैजान सक्ने वातावरण (प्रोफिट रिपाट्रिएसन) हो । लगानीकर्ता नाफा कमाउनका लागि आउने भएकाले उनीहरुले यहाँ कमाएको नाफा सहज रुपमा आफ्नो देश लैजान वातावरण बनाउनुपर्ने अग्रवालको भनाइ छ ।

सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता आइरहेका छन् । सरकार र विदेशी लगानीकर्ताबीच मात्र नभई नेपालको निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच पनि विभिन्न सम्झौता र समझदारी यो सम्मेलनबाट हुने भनिएको छ । यस्तो अवस्थामा विभिन्न देशका लगानीकर्तासँगको सम्बन्ध स्थापना तथा विस्तारका लागि पनि सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष अग्रवालले बताए । ‘विभिन्न क्षेत्रसँग जोडिएका उद्यमी व्यवसायीहरुले बैठक र छलफल गर्ने भएका कारण पनि यो सम्मेलनले एउटा महत्वपूर्ण प्लेटफर्म हो’, उनले भने ।

सरकारले लगानी सम्मेलनलाई नै लक्षित गरेर बहुपक्षीय लगानी सम्झौता (बाइलेटरेल इन्भेष्टमेन्ट एग्रिमेन्ट-बिइआइए) सँग सम्बन्धित कार्यविधि तयार पारेको छ । यो निजी क्षेत्रको पहिलादेखि नै माग रहेको उनले बताए । अब बिआइए गर्न स्वाभाविक रुपमा सहज हुने र त्यो पनि निजी क्षेत्रका लागि एउटा महत्वपूर्ण कदम हुने भएकामा खुसी व्यक्त गरे ।

नेपालको निजी क्षेत्र सम्मेलनको सह-आयोजक भएकाले यसलाई सफल बनाउन चेम्बर अफ कमर्स लागिपरेको उनले स्पष्ट पारे । उनका अनुसार सम्भावनाका क्षेत्र पहिचान भइसकेका छन् । उनले भने, ‘ऊर्जा, ग्रिन हाइड्रोजन, पर्यटनलगायत मुख्य क्षेत्र रहेका छन् । ग्रिन हाइड्रोजनमा विगतमा पोल्यान्ड चेम्बरसँग पनि अन्तरक्रिया भएको छ । त्यसैगरी, कृषि र सूचना प्रविधि, जडिबुटी र खनिज पदार्थ पनि महत्वपूर्ण क्षेत्र हुन् । हाम्रो लगानीकर्तासँग विभिन्न चरणमा सूचनाको आदान-प्रदान भइरहेको छ ।’

यो लगानी सम्मेलनमार्फत तपाईंहरु नेपालमा लगानी गर्न आउनूस् भन्ने सन्देश दिने चाहना चेम्बर अफ कमर्सको छ । सम्मेलनमा विभिन्न पक्षबीच फरक फरक क्षेत्रका परियोजनामा समझदारी र सम्झौता हुने भनिएको छ । अहिले प्रारम्भिक चरणको काम मात्रै हुने उनले जानकारी दिए । कहाँ लगानी गर्ने भनेर उद्योग स्थापना गर्ने ठाउँको छनौटपछि गर्नुपर्ने उनको सुझाव छ । सम्मेलनमा सोकेसमा राखिएका आयोजनामध्ये जलविद्युत् क्षेत्रका धेरै आयोजना छन् । सरकारी आयोजना मात्र नभई निजी क्षेत्रबाट लगानी सहकार्यका लागि प्रस्ताव भएका आयोजनाको प्रदर्शनी कक्ष (स्टल) पनि त्यहाँ रहने जनाइएको छ ।

निजी क्षेत्र-निजी क्षेत्र (बिटुबी) सहकार्यका लागि केकस्ता योजनाहरुमा कस्तो सम्भावना छन् भनेर छलफल भइरहेको उनले बताए । ‘अब दुई दिनभित्र कति टुङ्गो लाग्छ वा लाग्दैन भन्न सकिँदैन तर एउटा सुरुआत धेरै राम्रो हो’, अध्यक्ष अग्रवालले भने, ‘यसले अहिलेको अवस्थामा स्वदेशी लगानीकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.