अमेरिकी, चिनियाँ र भारतीय पर्यटक बढ्दै, पूर्वाधारको अभाव

  २०८० चैत ७ गते १४:४१     ऋतु


काठमाडौं । सन् २०२४ को पहिलो दुई महिना मुलुकको पर्यटन उद्योगका लागि सुखद संकेत लिएर आएका छन् । दुई महिनामा पौने २ लाख पर्यटक आउनु एक हिसाबले सुखद संकेत नै मान्नुपर्छ ।

विश्वव्यापी कोरोना महामारीपछि पर्यटक आगमन ह्वात्तै ओरालो लागेर पर्यटन उद्योग लगभग धराशायी हुने अवस्थाबाट बल्ल त्राण मिलेका बेला पछिल्लो दुई महिनाको पर्यटक आगमनले उत्साह थप्नु स्वाभाविक हो ।

कुल पर्यटक आगमनमा प्रमुख पर्यटन बजार छिमेकी भारत, उत्तरी छिमेकी चीन र अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटक संख्या आशातित हिसाबमा बढेको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।

तर, मुलुकको पर्यटन उद्योगले भारत, चीन र अमेरिकाबाट जति पर्यटक आश गरेको छ, के त्यति पाउन पर्याप्त पूर्वाधार छ त ?

यसमा सम्बद्ध निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायी के भन्छन् ? के उनीहरूले सोचे झैं वा भने झैं पर्यटन पूर्वाधार छन् ? अहिले भारत, चीन र अमेरिकाबाट पर्यटक किन बढे होलान् ? र, अझै तिनको संख्या बढाउन के गर्नुपर्ला ?

सन् २०२४ को जनवरी र फेब्रुअरीमा हवाई मार्ग हुँदै आएका १ लाख ७६ हजार ५ सय २६ पर्यटकले नेपाल घुमे । जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटकले नेपालको आतिथ्यको स्वाद लिए ।

राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार २०२३ जनवरी र फेब्रुअरीमा भने १ लाख २८ हजार ३ सय २९ पर्यटक नेपाल घुम्न आएका थिए । त्यस वर्ष जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ विदेशी पाहुना आएका थिए । यो संख्या २०२४ जनवरी र फेब्रुअरीको दाँजोमा ४८ हजार १ सय ९७ ले बढी हो ।

तथ्यांक केलाउँदा यो वर्ष दुई महिनामा सबैभन्दा बढी पर्यटक भारत, चीन र अमेरिकाबाट आएका छन् । दुई महिनामा ४९ हजार ७ सय ७ भारतीय पर्यटकले नेपाल भ्रमण गरे । त्यस्तै १६ हजार ४ सय ४७ चिनियाँ र १६ हजार १ सय ३६ अमेरिकी पर्यटक नेपालको पाहुना बने ।

२०२३ को दुई महिनामा भारतबाट ३४ हजार ८ सय ३७, चीनबाट ३ हजार ७ सय २ र अमेरिकाबाट आएका १४ हजार ४ सय ४८ पर्यटकले नेपाल घुमेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्षको दुई महिनामा भारतीय र चिनियाँ पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सन् २०१९ देखि लगातार संकटमा रहेको पर्यटन क्षेत्रमा २०२३ देखि क्रमिक सुधार हुँदै आएको छ । स्थलमार्गबाट आउने पर्यटक संख्या भने समावेश गरिएको छैन ।

संख्याका हिसाबमा नेपाल घुम्न आउने विदेशी पर्यटकमा भारत पहिलो स्थानमा छ । करिब ५० हजार हाराहारी नेपाल आएका भारतीय अधिकांश धार्मिक पर्यटक हुन् । उनीहरू पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, पोखरालगायत धार्मिकस्थल दर्शन गर्न आउँछन् । यसबाहेक नेपालका पहाडी र हिमाली क्षेत्र घुम्ने भारतीयको संख्या पनि उल्लेख्य छ ।

कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आगमन पनि वृद्धि हुँदै गएको छ । यो दुई महिनामा केही संख्यामा उनीहरूको आगमन वृद्धि भए पनि अपेक्षित भने हुन सकेको छैन ।

चिनियाँ पर्यक नेपालमा ४/५ देखि ९/१० दिनसम्म बिताउने गरी आउने गरको पर्यटन व्यवसायी बताउँछन् । उनीहरू ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भारतीय र अन्य देशका पर्यटकबाट भन्दा धेरै फाइदा हुने गरेको देखिन्छ ।

सरकारले आगामी १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेर सन् २०२३–२०३३ लाई ‘भ्रमण दशक’ घोषणा गरिसकेको छ ।

पर्यटन बोर्ड के भन्छ ?

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भारतको अर्थतन्त्र बढेका कारण भारतीय पर्यटक संख्या वृद्धि भएको बताउँछन् ।

‘भारतले जापान र जर्मनीलाई पनि उछिनेको छ । जीडीपी (कुल गार्हस्थ उत्पादन) ग्रोथको हिसाबमा,’ उनी भन्छन्, ‘यसले गर्दा पनि भारतीयहरू धमाधम घुम्न निस्किरहेका देखिन्छन् ।’

नेपालमा भारतीय पर्यटक संख्या बढ्नुको अर्को कारण माल्दिभ्सँग भारतको तिक्तता हुनु पनि रहेको निर्देशक लामिछाने बताउँछन् ।

‘माल्दिभ्ससँग अनबन भएपछि भारतका परराष्ट्रमन्त्री जयशंकरले पनि घुम्नका लागि समुद्र मात्रै भनिरहनु पर्दैन, हाम्रा वरिपरि हिमाल, पहाड पनि छन् त्यतातिर पनि घुम्न जान सक्छौं भनेर नेपालतिर इंगित गरेका थिए,’ लामिछाने भन्छन्, ‘उनको त्यो भनाइको छाप पनि भारतीयहरूमा परेको छ ।’

पछिल्लो समय माल्दिभ्समा भारतीय पर्यटक संख्या निकै घटेको छ । यसको कारण माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए ।

निर्देशक लामिछाने यो आर्थिक वर्ष सरकारका तर्फबाट कुनै प्रचारप्रसार नभएको बताउँछन् । ‘सरकारका तर्फबाट अहिलेको समय प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका कुनै काम भएका छैनन्,’ उनी भन्छन्, ‘तर, निजी क्षेत्रले भने खुबै प्रचारप्रसार गरिरहेका छन्, त्यसले पनि उल्लेख्य पर्यटक भित्र्याउन सहयोग पुगिराखेको छ ।’

चिनियाँ पर्यटक संख्या पनि गत वर्षको तुलनामा यो वर्ष बढेको छ । चिनियाँ पर्यटक जुन हिसाबले बढ्नुपर्ने हो त्यो हिसाबले भने नबढेको लामिछाने स्वीकार्छन् ।

‘चीनमा कोरोनायता कुनै पनि प्रवर्द्धनको काम गर्न सकिएको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रवर्द्धनमा लगानी गर्न नसक्दा अपेक्षा गरिएअनुसार संख्या बढ्न सकेन ।’

चिनियाँ पर्यटक किन बढेनन् भन्ने सन्दर्भमा अर्को कारण चीनको अर्थतन्त्रको स्थिति खराब हुनु पनि एक रहेको लामिछाने बताउँछन् ।

‘चीनको अर्थतन्त्र जुन हिसाबमा बढ्नुपर्ने हो, त्यसरी बढेको छैन,’ उनी भन्छन्, ‘त्यहाँको अर्थतन्त्र नबढ्दा पनि चिनियाँ पर्यटक घटेका हुन् ।’
लामिछानेका अनुसार अहिले चीनमा धेरैजसो उडान नियमितभन्दा पनि ‘चार्टर बेस’ मा भएका छन् । यस्तो उडान महँगो हुने उनी बताउँछन् ।

अर्कातर्फ, नेपालबाट उडान गरिरहेका चिनियाँ एयरलाइन्सले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली र युरोप तथा अमेरिकी पर्यटकलाई नेपालमा सेवा दिइरहेका छन् ।

नेपालबाट युरोपको सिधा उडान टर्किस एयरलाइन्सले मात्र गर्छ । अन्य युरोपेली र अमेरिकी देशमा नेपालबाट सिधा उडान नहुँदा चीन वा खाडी राष्ट्र ‘ट्रान्जिट’ गरी जानुपर्छ ।

अमेरिकाको सन्दर्भमा पनि पर्यटक आगमन त्यहाँबाट बढिरहेको छ । उनीहरूको अर्थतन्त्र राम्रो भएका कारण त्यसमा कुनै समस्या नभएको उनी बताउँछन् ।

निजी क्षेत्रको आफ्नै गुनासो

सरकारले चिनियाँ पर्यटककै लागि भनेर कुनै पनि कार्यक्रम र प्याकेज ल्याउन नसक्दा चीनबाट अपेक्षित पर्यटक आउन नसकेको निजी क्षेत्रको गुनासो छ ।

चीनले सन् २००३-०४ मा आफ्ना नागरिकले घुम्न जान मिल्ने देशको सूचीमा नेपाललाई राखेको थियो । त्यसपछि मात्रै चिनियाँ पर्यटक काठमाडौं आउन थालेका हुन् । अहिले तिनै पर्यटक लक्षित गरेर सरकारले कुनै पनि कार्यक्रम ल्याउन सकिरहेको छैन ।

पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ राम्रो संख्यामा पर्यटक भित्र्याउन सबैभन्दा पहिले पूर्वाधार नै ठिक हुनुपर्ने बताउँछन् । नेपालका पूर्वाधार निकै कमजोर अवस्थामा रहेको उनको भनाइ छ ।

उनका अनुसार सबैभन्दा पहिले सडक एकदमै राम्रा हुनपर्छ । अहिले विस्तार हुँदै गरेको पूर्वपश्चिम राजमार्गले पर्यटक भित्र्याउन एकदम महत्वपूर्ण भूमिका खेल्छ । त्यो राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन ।

पर्यटन भनेको धेरै संवेदनशील क्षेत्र हो । विमानस्थलकै कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भद्रगोल अवस्था देखेर पनि पर्यटकलाई त्यति रुचि नभएको पनि श्रेष्ठ बताउँछन् ।

‘सरकारले सन् २०३३ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, त्यो अहिलेको अवस्थामा सम्भव छैन,’ उनी भन्छन्, ‘अब हाम्रोमा ईयू (युरोपियन युनियन) ले एयरलाइन्स नै ब्यान्ड गरेको छ, सबैभन्दा पहिले त त्यो खुल्नुपर्यो, धेरैजसो पर्यटक नेपाली र युरोपियन ट्राभल एजेन्सीबाट हाम्रो जहाज चढ्दैनन् समस्या यही त छ ।’

पर्यटकका लागि काठमाडौं मात्रै राम्रो भएर नहुने श्रेष्ठ बताउँछन् । ‘त्यसका लागि जति पनि हाम्रा प्रसिद्ध पर्यटकीय स्थल छन्, ती सबै राम्रो हुनुपर्यो,’ उनी भन्छन्, ‘पर्यटक सबैतिर जानुपर्यो, वास्तविक पर्यटक ओभरअल नेपालभरि छरिनुपर्छ ।’

नेपालमा चिनियाँ पर्यटक नबढ्नुमा चीनको अर्थतन्त्रले प्रभाव पारेको भन्ने लामिछानेको भनाइसँग व्यवसायी श्रेष्ठ भने सहमत छैनन् ।

चिनियाँ पर्यटकको नेपालबाहेक अरू गन्तव्य पनि रहेको उनी बताउँछन् । ‘अब भियतनामकै कुरा गर्दा त्यहाँ टुरिस्टको धेरै राम्रो फ्लो छ,’ उनी भन्छन्, ‘त्यता पनि चिनियाँ लगायत अन्य देशका पर्यटक डाइभर्ट भएका छन्, किनभने त्यहाँका पर्यटकीय पूर्वाधार धेरै राम्रा छन्, साथै टुरिस्टलाई दिने सर्भिस पनि धेरै राम्रो छ ।’

धेरै चिनियाँ नेपाल ल्याउने सी एन्ड के ट्राभल्सको अनुभव

साढे दुई दशकदेखि नेपालमा चिनियाँ पर्यटकको उल्लेख्य संख्या भित्र्यारहेको सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ अझै उल्लेख्य मात्रामा चिनियाँ भित्र्याउन नेपालको पर्यटन क्षेत्रबारे प्रचारप्रसार, मार्केटिङ र सेल्स नभएको बताउँछन् ।

पोखरा जाने बाटो, लुम्बिनी जाने बाटो, नारायणगढबाट बुटवल जाने बाटोले पनि पर्यटकलाई नकारात्मक सन्देश दिइरहेको उनको भनाइ छ ।

‘चिनियाँ पर्यटकका लागि नजिकको गन्तव्य नेपाल हो, तर, सबैभन्दा महत्वपूर्ण कुरा हामीले मार्केटिङ र सेल्स नै गर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘प्रचारप्रसार नहुँदा चिनियाँले नेपाललाई भुल्ने नै अवस्था आइसक्यो, हामीले त्यहाँ व्यापार प्रवर्द्धन गर्नका लागि जुन गतिविधि गर्नुपर्ने हो, त्यो गर्नै सकेका छैनौं ।’

पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारमा सरकारले साह्रै नै चासो नदिएको उनी बताउँछन् । सरकारले पर्यटनलाई प्राथमिकतामै नराखेको उनी बताउँछन् ।

‘पर्यटन बोर्ड पनि अहिले नेतृत्वविहीन अवस्थामा छ,’ उनी भन्छन्, ‘पर्यटनमा नेतृव पनि परिवर्तन भइरहन्छ, यसले यो क्षेत्रमा निकै असर पुर्याएको छ ।’

साँच्चिकै पर्यटन विकास गर्ने हो र यसबाट लाभ लिने हो भने यो क्षेत्रमा पनि अर्थ मन्त्रालयमा जस्तै पर्यटन मन्त्रालयमा पनि विज्ञ मन्त्री चाहिने श्रेष्ठ बताउँछन् ।

‘अर्थमा हामी विज्ञलाई मन्त्री राख्छौं, त्यस्तै पर्यटनलाई पनि जान्ने र विज्ञ मन्त्री चाहिन्छ,’ उनी भन्छन्, ‘यदि विज्ञ हुने हो भने पर्यटन बोर्डले गर्न नसकेका कामहरू मन्त्रालयले गर्न सक्थ्यो, यस्ता कुरा नहुँदा निजी क्षेत्रलाई नैराश्यता नै छ ।’

विगतका वर्षमा निजी क्षेत्रले वर्षको २ लाख पर्यटक भित्र्याएको पनि तथ्यांक छ । विगतमा जस्तै पर्यटक भित्र्याउने हो भने सरकारले पाँच कुरामा ध्यान दिनुपर्ने श्रेष्ठ बताउँछन् ।

उनका अनुसार निजी क्षेत्रलाई उत्साहित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ । ‘निजी क्षेत्रको लगानीमा पाँचतारे होटलहरू बनिरहेका छन्, धेरै लगानी निजी क्षेत्रकै छ,’ उनी भन्छन्, ‘उनीहरूलाई अलिकति उत्साहित हुने खालका कार्यक्रम आवश्यक छन्, चाहे त्यो करमा होस् वा पर्यटकीय बस ल्याएर होस् ।’

दोस्रो, पर्यटन बोर्डलाई सक्रिय (एक्टिभ) बनाउने काम गर्नुपर्ने उनी बताउँछन् । अरू सबै काम छाडेर व्यापार प्रवर्द्धनमा मात्रै लगाउने निर्देशन र त्यही अनुसार कार्यविधि बनाउनुपर्ने उनको भनाइ छ ।

भर्खरै सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । पर्यटकीय राजधानी कुनै पनि गृहकार्य विना नै घोषणा गरिएको उनी बताउँछन् ।

त्यसैगरी नयाँ पर्यटकीय गन्तव्य पनि पत्ता लगाउनुपर्ने उनी बताउँछन् । ‘पचासौं वर्षदेखि हामीले पोखरा, काठमाडौं, चितवन र लुम्बिनीभन्दा बाहेक अरू कुनै नयाँ प्रडक्ट दिन सकेका छैनौं,’ उनी भन्छन्, ‘पहिले ट्रेकिङ जाने सबै गन्तव्यमा अहिले पक्की बाटो पुगे, नयाँ ट्रेकिङ रुट हामीले दिन सकेका छैनौं ।’

नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकाले बोर्डर सिटी (सीमा सहर) मा भारतीय मात्रै आउँछन् । हवाई मार्गबाट आउनेलाई अलिकति वातावरण अनुकूल बनाउनुपर्ने उनी बताउँछन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णसञ्चालनमा ल्याउन त्यही किसिमको प्याकेजसँगै आमन्त्रण गर्न सक्नुपर्ने उनको भनाइ छ । चार्टर गरेर आउनेका लागि पनि वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.