चार्टर्ड उडानबाट भियतनामका २१८ पर्यटक नेपाल आए

  २०८१ जेठ ३ गते १०:५७     विकासन्युज

काठमाडौं । रुप्से होलिडेजले चार्टर्ड फ्लाईटबाट २१८ भियतनामी पर्यटक नेपाल ल्याएको छ । यती ठूलो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी तिर्थयात्रीहरुको एकैपटक आगमन भएको पहिलो पटक हो ।

१८० तिर्थालु भियतनामको हनोईबाट रुप्से होलिडेजले व्यवस्थापन गरेको चार्टर्ड फ्लाईटबाट सोझै काठमाडौं अवतरण गरेका हुन् भने अरु यात्रुहरू रसिया, युरोप र अमेरिकाका विभिन्न गन्तब्यहरूबाट काठमाडौं आइपुगेका भियतनामी नागरिकहरू नै हुन् ।

१८० भियतनामी पर्यटकलाई लिन गएको हिमालय एअरलाईन्सको एअरबस ए३२० जहाज रुप्से होलिडेज्ले चार्टर्ड गरेको थियो । जसमा नेपाली पर्यटक समेत भियतनाम भ्रमणका लागि भियतनामको हनोई पुगेका छन् । नेपाल र भियतनाम विच चार्टर्ड फ्लाईट मार्फत सोझो हवाई सम्बन्ध स्थापना गर्दै दुईतर्फी पर्यटन प्रबर्धनमा अग्रसर भएको रुप्से होलिडेजले नेपाललाई बौद्ध धर्मालम्बिको धार्मिक पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न गरेको प्रयासको चौतर्फी सह्राना गरिएको छ ।

७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएका यी भियतनामी बौद्ध धर्मालम्बीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्नुका साथै पूर्वमा रहेको हलेसीको समेत दर्शन तथा भ्रमण अवलोकन गर्नेछन् । पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बाहरूमा ६ दिन र हलेसीमा १ रात बिताउने छन् ।

ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी यात्रुले नेपालबाट फर्किदा नेपालमा जन्मिएका बुद्धको सन्देश बोकेर जाने निश्चित छ । त्यसैले पनि यो समूहको भ्रमणलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।

भियतनामबाट नेपाल आएका यी पर्यटकहरूले नेपालमा लक्जरी धार्मिक पर्यटनको नयाँ सम्भाव्यता खोलेका छन् । जहाजै चार्टर नेपाल आएका यी पर्यटकहरू हायात प्लेस, लेमन ट्रि प्रिमियर, दुसित प्रिन्सेस लगायतका पाँच तारे होटलमा बसेका छन् भने उनीहरूको आरामदायीताको पूर्ण ख्याल राख्दै लक्जरी कार तथा टुरिस्ट बस मार्फत सेवा प्रदान गरिएको छ ।

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुली प्राप्त यो सफलता प्रति खुसी व्यक्त गर्दै भन्छन्, ‘यस प्रयत्नले नेपाल भियतनाम द्वयदेशीय पर्यटनमा नयाँ सम्भाव्यताको ढोका मात्र खुलेको छैन नेपालमा नयाँ अथाह पर्यटकीय सम्भाव्यता रहेको समेत पुष्टि भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.