भात घटाए नेपालीले, धान-चामल आयातमा ५७ प्रतिशत कमी

  २०८० फागुन २१ गते ९:०१     नारायण अर्याल

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ७ महिनामा धान र चामलको आयात करिब ५७ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ । यस वर्ष माघ मसान्तसम्ममा १० अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको धान र चामल आयात भएको छ । जवकि गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विभागका अनुसार गत साउनदेखि माघ मसान्तसम्म विभिन्न जातका पोलिस गरिएको र नगरिएको ५ करोड ५९ लाख १६ हजार ३१३ केजी चामल नेपालमा आयात भएको छ । यसको मूल्य ५ अर्ब ६८ करोड २८ लाख रुपैयाँ बराबर रहेको छ ।

विभागकै तथ्यांकअनुसार गत आवको सोही अवधिमा नेपालले विभिन्न जातका पोलिस गरिएको र नगरिएको १५ करोड ७६ लाख १७ हजार ५२६ केजी चामल १० अर्ब ३७ करोड ७९ लाख ७८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा ४ अर्ब ६९ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको कम चामल नेपालमा आयात भएको छ ।

यस्तै चालु आवको ७ महिनामा सात अर्ब ४२ करोड ४६ लाख रुपैयाँ बराबरको धान आयात भएको छ । गत वर्षको सोही अवधिमा भने १३ अर्ब ५३ लाख ४४ हजार रुपैयाँ बराबरको धान आयात भएको थियो ।

कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले चामलको आयात घट्नुमा तथ्यांकहरुको विश्लेषण भइनसकेको बताए । उनले नेपालमा भएको केही उत्पादन वृद्धि र नेपालीहरु विदेशिएको कारण पनि हुनसक्ने तर विश्लेषण गर्ने कार्य भइनसकेको बताए ।

सरकारी तथ्याङ्क अनुसार अघिल्लो आवमा रोजगारका निम्ति ७ लाख ७१ हजार ३२७ जना नेपाली नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर विदेश गएका थिए । त्यस्तै विदेश अध्ययन गर्न जानका लागि १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । त्यस्तै अध्यागमनको तथ्यांकअनुसार ७० हजार ९१५ जना नेपालीले सन् २०२३ मा नेपाल छाडेर स्थायी बसोबासका लागि नेपाली विदेशीएका छन् ।

स्वदेशमा धान उत्पादनमा केही वृद्धि भएकाले पनि धान चामलको आयात कम भएको कृषि विकास मन्त्रालयको दावी छ । मन्त्रालयको तथ्यांकअनुसार चालु आवमा देशभर कुल ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ, जुन गत आवको तुलनामा झण्डै ३ लाख मेट्रिक टनले बढी हो । गत आवमा गत वर्ष देशभर कुल ५४ लाख ८६ हजार ४७२ मेक्ट्रिक टन धान उत्पादन भएको थियो ।

नेपाली समाजमा सन्तुलित आहार सम्बन्धी चेननाको वृद्धि हुँदै गएको र खाने परिकारमा विविधिकरण पनि हुँदै गएकोले धान चामलको आयात कम भएको हुन सक्ने विश्लेषण रहेको पनि गरिएको छ । विभागको तथ्यांकअनुसार चालु आवको ७ महिनामा चामलको तुलनामा अन्य खाद्यान्नको आयात बढी भएको छ ।

चालु आवको सात महिनामा ७ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ बराबरको मकै, २ अर्ब ३२ करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको गहुँ, ५२ करोड ७६ लाख रुपैयाँ बराबरको कोदो र १५ करोड रुपैयाँ बराबरको जौ आयात भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आवको सात महिनामा भने १० अर्ब ४० करोड ११ लाख रुपैयाँ बराबरको मकै र १० करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको गहुँ आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.