६ मुहानबाट संकलन गरेर गाउँमा खानेपानी

  २०८० फागुन ५ गते १०:०७     विकासन्युज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका २ सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो ।

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उद्घाटन गरे ।

आयोजना निर्माण गर्न २ करोड १२ लाख रुपैयाँ खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । आयोजना निर्माणमा रु ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए ।

६ वटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ संकलन ट्यांकी र नौ वितरण ट्यांकी निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताइन् ।

‘स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्,’ उपाध्यक्ष राईले भनिन् । चालू आर्थिक वर्ष २०८०÷८१ मा थप ८० परिवारको घरमा पानी पुर्याउने लक्ष्य रहेको उनले बताइन् । कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.