संकटमा पनि लाभांश बाँढ्ने ‘टप टेन’ सहकारी, यस कारण देखिएन समस्या

  २०८० असोज २१ गते १८:२६     सन्तोष रोकाया

काठमाडौं । अहिले अधिकांश सहकारीको अवस्था हायलकायल छ । सदस्यको बचत फिर्ता गर्न नसकेर सहकारी सञ्चालकहरु तनाबमा छन् । अझ कतिपय सहकारीका सञ्चालक तथा अध्यक्ष फरार नै भएका छन् । त्यसले बचतकर्तालाई थप तनाब सिर्जना गरिरहेको छ । परिणामस्वरुप उनीहरु सम्बन्धित निकायममा उजुरी दिन बाध्य भइरहेका छन् । सञ्चालकहरु पनि पक्राउ हुने डरले फरार भइरहेका छन् ।

कतिपय सञ्चालकहरु पक्राउ पनि परिसकेका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको छ । यो चुनौतिपूर्ण अवस्थामा देशका केही सहकारी भने निर्वाद रुपमा काम गरिरहेका छन् । ती सहकारीमा बचतकर्ताले निर्धक्क रुपमा पैसा जम्मा गरिरहेका छन् भने ऋणीले धमाधम ऋण लिइरहेका छन् । सेयर सदस्यहरुले वर्षेनी लाभांश पाइरहेका छन् ।

देशमा केही यस्ता सहकारी छन् जुन सहकारीमा अहिलेको समस्याले छोएको छैन । उल्टै मासिक रुपमा तरलता थपिँदै गएको छ । हामीले समस्या सिर्जना नभएर वार्षिक रुपमा सेयर सदस्यहरुलाई लाभांश वितरण गरिरहेका उत्कृष्ट १० सहकारीको वर्तमान वित्तीय अवस्था र लाभांश रकमसहितको सामग्री तयार गरेका छौं ।

सहकारी ऐनको दफा ७१ मा सहकारी संस्थाहरुको लाभांश कोष हुने व्यवस्था छ । सोही दफाको उपदफा २ मा सहकारी संस्थाहरुले सेयर पुँजीको १८ प्रतिशत बढी लाभांश वितरण गर्न नसकिने व्यवस्था छ । सहकारीहरुले १८ प्रतिशत लाभांशको सीमा नघाघ्ने किसिमले वर्षेनी लाभांश वितरण गर्दै आएका छन् ।

नवजीवन सहकारी

सुदूरपश्चिमको धनगढीमा रहेको नवजीवन बहुउद्धेश्यिय सहकारी संस्था सिंगो सुदूरपश्चिमको विश्वासिलो सहकारी हो । यो सहकारीको सेवा सुविधा र व्यवस्थापिक कुशलताले पनि धेरैले यसलाई बैंकका रुपमा चिन्छन् । वित्तीय साक्षरता फैलाउन पनि महत्वपूर्ण काम गर्दै आएको यस सहकारीमा पनि वर्तमान सहकारीको समस्याले छुन सकेको छैन ।

त्यस कारणले पनि यस सहकारीले वर्षेनी सेयर सदस्यलाई लाभांश वितरण गर्दै आइरहेको छ । सहकारीले अहिले साधारणसभा गर्ने तयारी गरिरहेको छ । यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ९५ लाख ५४ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा यस सहकारीले ३ करोड ११ लाख ८८ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो ।

यस्तै, सहकारीले कर्मचारीलाई बोनस पनि वितरण गरिरहेको छ । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा ६० लाख र त्यसअघिल्लो आर्थिक वर्ष ६३ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कर्मचारी व्यवस्थापनमा पनि उत्कृष्ट सहकारीको छवि बनाएको नवजीवनको कुल सेयर पुँजी २८ करोड ५० लाख ८८ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म ४ अर्ब ३७ करोड ४५ लाख रपैयाँ बचत संकलन गरेको यस सहकारीले ३ अर्ब ९० करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ । हाल सहकारीसँग २४.७० प्रतिशत तरलता छ ।

किसान सहकारी

नवलपरासीको एक उत्कृष्ट सहकारीको छवि किसान बचत तथा ऋण सहकारी संस्थाले निर्माण गरेको छ । यस सहकारीले पनि वर्षेनी सेयर सदस्यहरुलाई लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सहकारीले ५४ लाख ८८ हजार रुपैयाँ कर्मचारी बोनस वितरण गरेको सहकारीले वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ९६ लाख ७४ हजार रुपैयाँ बोसन वितरण गरेको थियो भने सहकारीले आव २०७९÷८० मा ७ करोड नाफा गरेको थियो ।

सहकारीले गत आर्थिक वर्षमा १९ लाख ९७ हजार रुपैयाँ लाभांश वितरण गरेको उल्लेख छ । किसान बचत तथा ऋण सहकारी संस्थाको ३३ करोड ५० लाख ५९ हजार रुपैयाँ सेयर पुँजी छ । साउन मसान्तसम्म यस सहकारीको बचत संकलन २ अर्ब ७७ करोड ९६ लाख ६४ हजार रुपैयाँ रहेकोमा २ अर्ब ४४ करोड २७ लाख ४२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीसँग २३.१२ प्रतिशत तरलता छ ।

बिकू सहकारी

नवलपरासीमा नै रहेको बिकु सहकारी पनि एक ठूलो सहकारी मध्येमा पर्छ । यस सहकारीले गत वर्ष ९ करोड ५९ लाख २० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । गत साउनसम्मको तथ्यांक अनुसार ८९ करोड ७९ लाख ९० हजार रुपैयाँको सेयर पुँजी रहेको यस सहकारीले ७ अर्ब ४२ करोड ३६ लाख ६७ हजार रुपैयाँ बचत संकलन गरेको छ भने ६ अर्ब ८२ करोड १२ लाख ५५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीसँग ३१.८३ प्रतिशत तरलता छ ।

पोखरा रोयल

कास्कीको पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको सेवा सुविधा पनि बैंकको भन्दा कम छैन । अहिले अधिकतम् तरलता हुने सहकारी संस्थामा यो सहकारी पनि पर्छ । यस सहकारीसँग अहिले २६.२० प्रतिशत तरलता छ । सहकारीले गत आर्थिक वर्ष २०७९/८० को साधारणसभा पनि सम्पन्न गरिसकेको छ ।

कुल २१ करोड ८ लाख रुपैयाँ सेयर पुँजी भएको यस सहकारीले १ अर्ब ६४ करोड १६ लाख रुपैयाँ बचत संकलन र १ अर्ब ७७ करोड ४१ लख रुपैयाँ कर्जा लगानी गरेको छ । यस सहकारीले आर्थिक वर्ष २०७९/८० मा १२ प्रतिशत अर्थात् २ करोड ५३ लाख ७३ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष सहकारीले २ करोड ११ लाख २८ हजार रुपैयाँ छुट्याएको थियो ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ आफुहरु नीति विधि र प्रविधिको आत्मसात गरेको कारण समस्या नआएको बताउँछिन् । ‘हामी सुरुदेखि नै सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु पालना गरेर काम गरिरहेका छौं, अनुशासित भएर काम गरियो भने समस्या आउँदैन, तर सहकारीको कानुन नमानेर आफुखुसी काम गर्ने विनाधितो ऋण दिने सहकारीमा समस्या आएको हो,’उनले भनिन् ।

बुडोल सहकारी

काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले पनि गत आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस सहकारीले १५ प्रतिशत अर्थात् २ करोड ४८ लाख ९० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । संस्थाले सेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ३.५५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय पनि गरेको छ ।

सहकारीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७२ लाख २५ हजार रुपैयाँ छुट्याएको थियो । यस सहकारीले कर्मचारी बोनस अन्र्तगत ६६ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । १५ करोड ९८ लाख ५४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीले हालसम्म १ अर्ब ४२ लाख ६७ हजार रुपैयाँ बचत संकलन गरेको छ । सहकारीले १ अर्ब २९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीसँग कुल ३३.६३ प्रतिशत तरलता रकम छ ।

सामुदायिक सहकारी

काभ्रेकै सामुदायिक बचत तथा ऋण सहकारी पनि एक ठूलो कारोबार गर्ने सहकारी मध्येमा पर्छ । यस सहकारीले असोज २७ गते साधारणसभा गर्दैछ । कुल ३९ करोड ५७ लाख १७ हजार सेयर पुँजी रहेको यस सहकारीले गत भदौसम्म २ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ अर्ब ६० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सहकारीसँग भदौ मसान्तसम्म तरलता १६.७८ प्रतिशत तरलता छ । यस सहकारीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट विभिन्न कोष बाँडफाँड गर्दा यस वर्ष शेयर सदस्यहरूलाई ११.६५ प्रतिशतको दरले लाभांश वितरण गर्न सकिने बताएको छ । आव २०८०/०८१ को नाफाबाट १२.८२ प्रतिशत लाभांश वितरण गर्न सकिने अनुमान यस सहकारीको छ ।

जनसचेतन सहकारी

दोलखाको जनसचेतन बचत तथा ऋण सहकारीको १६ करोड ५८ लाख ७१ हजार सेयर पुँजी छ । सहकारीले १ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ८० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा ९६ लाख ४६ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । त्यसअघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले १ करोड १९ लाख ५१ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो । भदौसम्म यस सहकारीसँग २८ करोड रुपैयाँ तरलता रकम छ ।

कर्णाली सहकारी

झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था पनि कोसी प्रदेशको परिचित सहकारी संस्था हो । भदौ मसान्तसम्म ४९ करोड २२ लाख ८८ हजार रुपैयाँको सेयर पुँजी भएको यस सहकारीले २ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ अर्ब ७८ करोड १२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

यस सहकारीमा भदौसम्म १९.७८ प्रतिशत तरलता रकम रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ११ लाख ६२ हजार रुपैयाँ लाभांश वितरण गरेको यस सहकारीले अघिल्लो आर्थिक वर्ष २ करोड ९० लाख २८ हजार रुपैयाँ लाभांश सेयर सदस्यलाई वितरण गरेको थियो ।

साहरा नेपाल

झापाको विर्तामोडमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ सेयर पुँजी रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म ११ अर्ब २८ करोड ५४ लाख रुपैयाँ बचत संकलन गरेको यस सहकारीले १० अर्ब ९० करोड २३ लाख रुपैयाँ ऋण लगानी गरेको छ । भदौसम्म सहकारीसँग २७.५६ प्रतिशत तरलता छ ।

यस सहकारीले आर्थिक वर्ष २०७९/८० मा १६ करोड ७० लाख ७८ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा गर्दैछ । अघिल्लो आर्थिक वर्ष यस सहकारीले २० करोड ८३ लाख ६३ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो ।

साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी समुदायमा आधारित सहकारीहरुमा समस्या नभएकोले सहज रुपमा लाभांश पनि वितरण भइरहेको बताउँछन् । उनका अनुसार जथाभावी लगानी नगर्दा र सानो खालका दीर्घकालीन बचतलाई प्राथमिकता दिँदा अन्य सहकारी जस्तो समस्या सिर्जना नभएको हो ।

‘हामी ठूलो ऋण दिदैनौं, तत्काल भुक्तानी गर्नु पर्ने ठूलो बचत पनि राख्दैनौं, जगेडा कोषबाट पनि नाफा दिँदैनौं, वास्तविक जति नाफा हो, त्यति नै वितरण गर्छौं, तरलताका लागि विभिन्न टुल्सहरु प्रयोग गरेर लगानी गर्छौं, त्यसकारण पनि समस्या नआएर सहज रुपमा सहकारी सञ्चालन गरिरहेका छौं,’ उनले भने ।

एनएमसी सहकारी

झापाको मेचीनगरमा रहेको नेपाल बहुउद्धेश्यिय सहकारी संस्था (एनएमसी) सहकारी पूर्वको ठूलो सहकारीमध्येमा पर्छ । १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ सेयर पुँजी रहेको एनएमसी सहकारीले ९ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ५४ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीसँग साउन मसान्तसम्म १७.९६ प्रतिशत तरलता छ ।

यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सेयर सदस्यहरुलाई लाभांश वितरण गरेको थियो । गत वर्ष आर्जन गरेको खुद मुनाफामध्ये सेयर लाभांश कोषमा जम्मा हुन आएको ५ करोड ६४ लाख ३४ हजार रुपैयाँ लाभांश वितरण गरेको सहकारीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.