अटोमोबाइल क्षेत्रको समस्या सुल्झाउन गएका नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई सुनाए राष्ट्र बैंकप्रतिको गुनासो

  २०८० भदौ १५ गते १७:३७     विकासन्युज

काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ ।

छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा सरोकारवाला निकायहरुसंग सल्लाह गरेर ययार्थपरक बनाउन अनुरोध गरेका छन् ।

सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने,  बैकहरुबाट निजी सवारी साधनको लोन प्रवाह गर्ने प्रकियाको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने बताएका छन् ।

त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा बर्गीकरण गरिने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्ने बताएका छन् ।

कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि थापाले आग्रह गरेका छन् ।

त्यसैगरी, छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छन् ।

काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन थापाले आग्रह गरेका छन् ।

छलफलमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.