‘बैंकको ब्याजदर दीर्घकालका लागि घटेको हो’

  २०८० साउन ८ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दै दीर्घकालसम्म न्यून रहने बताएका हुन् ।

‘लगानीयोग्य कर्जा सहज भएकाले बैंकहरुले ब्याजदरमा भद्र सहमति तोडेका हुन् । यसले समग्रमा ब्याजदर घट्न मद्दत गरेको छ । ग्राहकको इच्छाअनुसार आफ्नो रोजेको बैंकमा जान सक्छन् । समग्र अर्थतन्त्रको सहजताका लागि सहमति तोडिएको हो,’ अध्यक्ष केसीले भने, ‘ब्याजदर अब दीर्घकालका लागि घटेको हो । कुनै असामान्य अवस्था नआएसम्म अब बैंकको ब्याजदर दीर्घकालका लागि घटेको हो ।’

एनएमबी बैंकका सीईओ समेत रहेका केसीले चालू आर्थिक वर्षमा ६/७ सय अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य राखेको भएपनि चुनौती कायम रहेको बताए । उनका अनुसार राष्ट्र बैंकले साढे ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राख्दा उत्पादनमुलक र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिन चाहेको हो ।

‘राष्ट्र बैंकको मौद्रिक नीतिले वास्तविक अर्थतन्त्रलाई सपोर्ट हुने गरी बैंकिङ्गलाई विजनेश गर्न सहज हुनेछ । सेयर कर्जा, घरकर्जा र अटोकर्जामा सहुलियत दिँदा अन्य क्षेत्र निर्माण, सिमेन्ट लगायत क्षेत्रलाई समेत सजिलो हुनेछ,’ अध्यक्ष केसीले भने, ‘अन्तर बैंकदर ह्वात्तै घटेर ०.५ प्रतिशतमा झर्ने र ह्वात्तै बढेर ९ प्रतिशत पुग्ने अस्थिरतालाई अब स्थिरता कायम हुनेछ ।’

बैंकको ब्याजदर सम्बन्धी भद्र सहमति सबैको सहमतिमा नै तोडेको उनको भनाइ छ । भद्र सहमति तोडेपछि बैंकहरुको औसत ब्याजदर साउनमा बचततर्फ न्यूनतम ५.५ प्रतिशतदेखि ९.३४ प्रतिशतमा झरेको उनको दावी छ । बैंकिङ्ग क्षेत्रमा तरलता सहज भएपछि ब्याजदरमा कायम गरिएको भद्र सहमति तोड्नु परेको अध्यक्ष केसीले बताए ।

‘कर्जाको माग कम र निक्षेप संकलन दर बढ्दै गएपछि ब्याजदर पनि निरन्तर घट्ने देखिन्छ । सरकारको खर्च पनि बढेका कारण तरलता सहज भएको हो । निजी क्षेत्र र ऋणीहरुसँग छलफल गर्दा ब्याजदर उच्च भएको गुनासो थियो । अब ब्याजदर कम भइसकेको छ,’ उनले भने ।

उनका अनुसार गत पुसमा साढे १३ प्रतिशत बैंकहरुको औसत कर्जाको दर रहेकोमा जेठमा घटेर १२.५३ प्रतिशतमा सिमित भएको छ । साथै, जेठमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशतमा झरेको छ । ४ प्रतिशतमा स्प्रेडदर घट्दा ब्याजदर कम हुँदै जाने अध्यक्ष केसीले बताए ।

उनले पछिल्लो तथ्याङ्क अनुसार आन्तरिक क्षेत्र सुधार हुँदै गएको र विदेशी मुद्रा सञ्चिति ठिकै रहेको बताए । साथै, रेमिट्यान्स आयातमा पछिल्ला महिनाहरुमा रेकर्ड ब्रेक गर्दै आएको उनको भनाइ छ । मौद्रिक नीति आन्तरिक क्षेत्र तथा अर्थतन्त्रलाई चलायमान गर्ने गरी सन्तुलित आएकाे उनले बताए ।

उनका अनुसार बैंकहरुले बाहिरबाट स्रोत ल्याउँदा हेजिङ गर्नु पर्ने व्यवस्था छिट्टै लागू हुने भएपछि बैंकहरुलाई समेत सहज हुनेछ ।

बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले पनि मौद्रिक नीति सन्तुलित आएको बताए । तरलता सहज भएपछि ब्याजदर खुला छोड्नु परेको उनले बताए । अब बैंकहरुले आ-आफ्नो तरिकाले अनुकुलता अनुसार ब्याजदर तोकेर जानु पर्ने बताए ।

‘अब बैंकहरुले आफ्नो व्यवस्थापन गरेर अघि बढ्नु पर्ने बेला आएको छ । ब्याजदर खुला छोड्दा भविष्यमा सोही अनुसारको प्रभाव पार्नेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.