अभिकर्ता सहकारीमा डुब्दा बीमा क्षेत्रमा असर गर्‍यो : सीईओ खत्री

  २०८१ जेठ २९ गते १६:२५     विकासन्युज

नेशनल लाईफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् सुरेश प्रसाद खत्री । बीमा क्षेत्रमा प्रवेश पनि नेशनल लाईफ इन्स्यारेन्सबाटै गरेका खत्री अहिले सोही कम्पनीको नेतृत्व गरिरहेका छन् । एउटा इन्ट्री लेवलदेखि त्यो संस्थाको नेतृत्व गर्ने अवसर सीमितले मात्रै पाउँछन् । तर, त्यो अवसर सीईओ खत्रीले पाए । बीम क्षेत्रमा तीन दशक अनुभव भएका खत्रीले नेशनल लाईफ इन्स्योरेन्समा २०५१ सालमा प्रवेश गरेका थिए । अहिले यही कम्पनीको नेतृत्व गरिरहेका खत्रीसँग वर्तमान बीमा व्यवसाय, यस क्षेत्रका अवसर, चुनौती र जोखिमसँगै आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् ।

बीमा कम्पनीहरू बलियो हुँदा उनीहरूले खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउनेछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज तथा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईंको कम्पनीले यसतर्र्फ के-के काम गरिरहेको छ ?

नेशनल लाइफले मर्ज नगरी नियामकले तोकेको पुँजी पुर्याइसकेको छ । नयाँ बीमा पोलिसी ल्याउन कम्पनीले गृहकार्य गरिरहेको छ । बीमा प्राधिकरणको उद्देश्य अनुरूप कम्पनीले अभिकर्ताहरूसँग छलफल तथा बहस गरेर नयाँ बीमा योजना ल्याउने तयारी गरेको छ । कस्तो किसिमको प्रडक्ट ल्याउने भनेर बजारसँग निर्भर हुन्छ । अहिले पनि बीमा सम्बन्धी सचेतनाको अभाव छ । सहरी क्षेत्रका ग्राहकहरू सचेत भएकाले नयाँ प्रडक्टमा अभ्यस्त हुनुहुन्छ भने ग्रामिण भेगमा त्यस किसिमको वातावरण बनिसकेको छैन । तैपनि नयाँ–नयाँ प्रडक्ट विकास गरेर सकारात्मक तरिकाले अगाडि बढ्ने कम्पनीको रणनीति छ ।

अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर गर्याे । यो संकटबाट माथि उठ्न तपाईंको कम्पनीले कस्ता किसिमका अभ्यास गरिरहेको छ ?

कम्पनीले नयाँ अभ्यास गर्दैमा सबै समस्या समाधान हुँदैन । आर्थिक मन्दी विश्वभर नै छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । तुलनात्मक रूपमा केही चलायमान हुन खोजिरहेको छ । के कारणले बजार डाउन भएको हो भनेर राज्यले गम्भीर भएर सोच्नुपर्छ । बीमा कम्पनीले प्रडक्टहरू सस्तो बनाएर मात्रै हुँदैन । सकेसम्म स–सानो बीमा गराएर सबैलाई समेट्नु पर्छ ।

बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको हो भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू आफ्नो तरिकाले किन अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ?

बैंकसँग निर्भर भएर बीमा बजार चलेको भन्ने सान्दर्भिक होइन । बैंकले कर्जा उपलब्ध गराएपछि व्यापार हुने, यदि उपलब्ध नगराएपछि व्यापार नहुने भन्ने हुँदैन । आर्थिक मन्दीको कारण नै व्यापारमा असर परेको हो । आर्थिक मन्दी बीमा, बैंकिङ लगायत राज्यभर एकै किसिमको प्रभाव परेको छ । एउटा क्षेत्र अर्काे क्षेत्रसँग सम्बन्धित भएकाले प्रभाव परेको हो । जस्तो बैंक बीमासँग र बीमा बैंकसँग पनि सम्बन्धित छ । कर्जा प्रवाह भएपछि त्यसको बीमा गर्नु पर्ने हुन्छ । ऋणीहरूको जीवन बीमा गर्नुपर्ने हुन्छ । त्यो बीमासँग सम्बन्धित भयो । त्यसैले एकअर्कासँग परिपुरक नै हुन् । सबै मिलेर राज्यले स्थीर नीति नियम बनायो भने पक्कै पनि सहज हुन्छ । कम्पनीहरूको व्यापार व्यवसाय पनि वृद्धि गर्न अभिप्रेरित हुन्छ ।

अहिले बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ?

अधिकांश युवाहरू विदेश पलायन भएका छन् । त्यहाँबाट व्यापार ल्याउन सकियो भने कम्पनीको व्यवसाय वृद्धिसँगै राज्यको स्रोत पनि जुट्छ । अन्तर्राष्ट्रिय कम्पनीमा भन्दा स्वदेशी कम्पनीमा सो रकम आउँथ्यो ।

अहिले बीमा व्यवसायका समस्या, जोखिम र अवरोध के-के छन् ?

पहिलाको तुलनामा प्राधिकरणबाट सकारात्मक नीति तथा नियम बनेर आएका छन् । ती नीति नियमहरू व्यवहारिक पनि छन् । अहिले नियामकबाट असहयोग भएको अभ्यास छैन । तर, आर्थिक मन्दीका कारण व्यवहारिक समस्या धेरै छन् । बीमा कम्पनीहरूले अभिकर्ताहरूमार्फत बीमा गर्ने हो । तर, अभिकर्ताहरूले लगानी गरेका सहकारी संस्थाहरू डुबेका छन् । जसले गर्दा उहाँहरूले व्यक्तिगत लगानीबाट ग्राहक बनाउन सक्नु भएको छैन । आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन सकेको छैन ।

बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ?

नयाँ व्यापार व्यवसायका स्रोत खोज्नुपर्छ । एउटा कम्प्लायन्स पनि हुनुपर्छ । र, व्यवसाय पनि सोही अनुरूप अगाडि बढाउनु पर्छ । कम्प्लायन्स बिनाको व्यवसाय सम्भव छैन । कम्प्लायन्स र व्यवसाय दुइटैलाई समानुपातिक हिसाबले लगियो भने उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.