महानिर्देशक अधिकारीलाई पुनः सोधियो तीनदिने स्पष्टिकरण

  २०८० असार २१ गते १०:४२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री सुदन किरातीले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टिकरण सोधेका हुन् ।

‘मन्त्रीज्यूले बुुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको हो, बिहीबार बिहान १० बजे नै पत्र पठाउने भन्ने तयारी थियो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसअघि पठाईएको पत्रको जवाफ नदिनुको कारण सहित स्पष्टिकरणको जवाफ पठाउन दोस्रो पत्र पठाईएको हो ।’

बुधबार दिउसो र साँझ मन्त्री किराती र महानिर्देशक अधिकारीको मन्त्रालयमा भेटवार्ता समेत भएको थियो । उनीहरु दुई जना गोप्य भेट गरेको भन्दै भेटमा के कुरा भयो त्यसको जानकारी कसैलाई नभएको स्रोतले दाबी गर्याे ।

‘उहाँहरुको कुरा हुँदा यसअघिको विवाद समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर पुनः स्पष्टीकरण सोध्ने निर्णय भएसँगै समाधान नभएको हाम्रो बुझाइ हो’, स्रोतले भन्यो ।

महानिर्देशक अधिकारीले तीन दिनको समयमा पुनः स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नपठाए थप निर्णय हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.